यस वर्षको दशैं तथा तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरी यस वर्ष आवश्यकता अनुसार निरन्तर सटही सुविधा उपलब्ध गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन् । आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् । राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले साट्न आउने सर्वसाधारणलाई एकदेखि दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदैछ ।
राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । दशैंमा नयाँ नोटको माग अत्यधिक हुने भएकाले विगतका वर्षमा राष्ट्र बैंकले निश्चित मिति तोकेर ठूलो संख्यामा सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । यस वर्ष भने कुनै विशेष कार्यक्रम वा तामझामबिना आवश्यकताअनुसार नयाँ नोट सटहीको व्यवस्था गरिएको हो ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था पनि गरिएको छ । हाल अधिकांश एटीएमबाट ५०० र १००० रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था छ । १०० रुपैयाँ दरका नोटसमेत एटीएमबाट निकाल्न सकिने भएपछि दशैं–तिहारमा साना दरका नोटको माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
