२०८३ असोज ११ , आइतबार 27, September 2026, Sunday

कांग्रेसमा समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष

नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो ।

देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशांक कोइरालाले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताए ।

देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ । आसन्न महाधिवेशनका क्रममा देउवा समूहद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा प्रकाशशरण महतले जानकारी दिए ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरेको जानकारी दिए । संयोजक पौडेलले यही असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कूल सदस्य संख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिए । यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार