भारतबाट आयात हुने सागसब्जीमा भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ । मूल्य राम्रो पाउन थालेपछि बाँकेका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती बढाउँदै गएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनाका तरकारी खेती बढाइरहेका छन् । गाउँका धेरै किसानले तरकारी खेती गर्न थालेको नेपालगन्ज–२१ पुरैनीका सलाउद्दीन बागवानले बताए ।
‘पहिले तरकारी बिक्री गर्न टाढाटाढा पुग्नुपर्थ्यो, अहिले खेतबारीबाटै बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्,’ उनले भने । भारतबाट आउने तरकार भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको छ ।
नेपालगन्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन् । उनका अनुसार नेपालगन्जको रानीतलाउ बजारमा अहिले अधिकांश बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ ।
भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो । भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन् ।
भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेको नेपालगन्जस्थित रानी तलाउ थोक तरकारी मण्डीका थोक व्यवसायी मोहियुद्दिन राईले बताए ।
पछिल्लो समयमा बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका हुन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक १३ हजार भन्दा बढी मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको छ । केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रम अन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेला लगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ ।
पछिल्लो समय नगदे बालीका रूपमा सागसब्जी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शर्माले बताइन् । कृषि ज्ञान केन्द्रका अनुसार यतिबेला नेपालगन्जको बजार बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानी लगायत कृषि उपजले धानेको छ ।
