२०८३ भदौ २३ , मंगलबार 8, September 2026, Tuesday

कर्णाली राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ अलपत्र

कर्णाली राजमार्गमा थन्किएका स्याउ बोकेका गाडी ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ । जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे दुई करोड रुपैयाँ बराबरको स्याउ बाटोमै रोकिएको हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ४० देखि ४२ वटा गाडीमा रहेको स्याउ बाटोमै रोकिएको छ । उनका अनुसार सेरावाडामा १४–१५ वटा, भिग्ममा सात वटा र हुल्ममा २० वटा स्याउ बोकेका गाडी सडक अवरुद्ध हुँदा रोकिएका छन् ।

ती गाडीमा ढुवानी गरिएको स्याउको मूल्य करिब दुई करोड ५० लाख रुपैयाँ बराबर रहेको उनले बताए । किसान दीपकनाथ योगीले स्याउ बाटोमै रोकिँदा कुहिने डर भएको बताए ।

आफूले पनि किसानका स्याउ लिएर आएको र पहिरोका कारण बाटो अवरुद्ध हुँदा स्याउ बोकेको गाडी नाग्ममा रोकिएको उनले बताए । ‘वर्षभरि स्याउ उत्पादन तथा सङ्कलन गरेर बजारमा लैजाने क्रममा दुई–तीन दिन बाटोमा रोकिएपछि कुहिने डर भएको छ,’ उनले भने ।

दुई दिनदेखि यातायात अवरुद्ध

सोमबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । दुई दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार कालिकोटको पिलीमा सडक भत्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार पिली खण्डमा ठुलो क्षेत्रमा सडक भत्किए पनि त्यहाँ अस्थायी रूपमा बाटो खुलाइएको छ ।

उनका अनुसार कर्णाली राजमार्गको पिलीसहित गगने खोला र एस मोडमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । कार्यालय प्रमुख महताराका अनुसार जुम्लादेखि मान्मसम्मको सडक सञ्चालनमा ल्याइएको छ भने गगने खोलामा आजै सडक खुलाउने तयारी भइरहेको छ ।

उनका अनुसार एस मोडमा पहिरो तथा ढुङ्गा खस्दा सडकमा ठुलो क्षति पुगेको छ भने गगने खोलामा लेदोसहितको पहिरो आइरहेको छ । सडक खुलाउन कार्यालयबाट मेसिन तथा प्राविधिक टोली घटनास्थलमै खटिएर काम गरिरहेको उनले बताए ।

सडक डिभिजन कार्यालयले सूचना जारी गर्दै लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा सडकमा ठूलो क्षति पुगेको जनाएको छ । राजमार्गको अवस्था जोखिमपूर्ण र पूर्ण रूपमा अवरुद्ध रहेकाले सडक सञ्चालन भएको आधिकारिक सूचना जारी नभएसम्म उक्त सडक खण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले अत्यावश्यक अवस्थामा समेत यात्रा गर्दा विशेष सावधानी र सुरक्षा अपनाउन कार्यालयले आग्रह गरेको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको भए पनि आवागमन सहज हुन तीन दिनसम्म लाग्न सक्ने कार्यालयले जनाएको छ ।

यता, जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सडक अवरुद्ध भएकाले सञ्चालनमा आउन केही दिन लाग्ने बताए । उनका अनुसार सडकको अवस्था बुझेर सडक डिभिजन कार्यालयसँग समन्वय गरी मात्र यात्रा गर्न सूचना जारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार