२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

बाढीका कारण आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ ।

उनले भने, ‘बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल र गाउँपालिकादेखि नामु्रङ जङ्गल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुल बगाएपछि पर्वतारोहण र पदयात्राका लागि सानागाउँसम्म जाने पर्यटक प्रभावित भएका छन् ।’

उनका अनुसार बाढीले दुई वटा मुख्य पदमार्गमा समेत क्षति पुर्याएपछि तत्कालका लागि स्थानीय र पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ । पदमार्ग र झोलङ्गे पुलमा पुगेको क्षतिका कारण आरोहणका लागि जाने स्थानीय र पर्यटक प्रभावित भएका छन् ।

बाढीका कारण कुनै मानवीय क्षति नभए पनि मनासलु पदमार्ग र लार्केपास पदमार्गमा क्षति पुगेकाले यात्राको क्रममा रहेका र तयारीमा नरहेका पर्यटकलाई तत्काल यात्रा गर्न रोक लगाइएको उनले जानकारी दिए ।

बाढीले मनासलु आरोहणका लागि जाने पर्यटक बढी प्रभावित हुन पुगेको जनाउँदै प्रहरी र स्थानीय तहसँगको समन्वयमा तत्काल अवरुद्ध पदमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा मनासलु आरोहण गर्न २९ समूहका ३४८ आरोहीले आरोहण अनुमति लिएका छन् । जसमध्ये २६३ पुरुष र ८५ महिला मनासलु आरोहणको तयारीमा रहेका छन् ।

जसमध्ये सबैभन्दा बढी चीनबाट ५५, रुसबाट ३९, अमेरिकाबाट ३२, फ्रान्सबाट २७, बेलायतबाट २४ र नेपालबाट १५ जनाले अनुमति लिएका छन् । विभागका अनुसार शरदयाममा मनासलु, मकालु र दङ्गा हिमाल आरोहणका लागि ३२ समूहका ३६७ आरोहीले अनुमति लिएका छन् ।

मकालु आरोहणका लागि यस वर्ष तीन जना र दङ्गा हिमाल आरोहणका लागि आइतबारसम्म १६ जनाले अनुमति लिएका छन् । तीन वटै हिमालमा आरोहण अनुमति दिएबापत विभागले १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पर्वतारोहण सञ्चालक सङ्घका अनुसार शरदयामको आरोहणका लागि अहिले बाटो खुलाउने र डोरी टाँग्ने (रोप फिक्सिङ) काम तीव्र गतिमा अगाडि बढेको छ । मनासलुको चुचुरोसम्म बाटो खोल्ने खटिएको सात सदस्यीय दक्ष शेर्पा टोली (आइसफल डाक्टर)ले दोस्रो आधार शिविरसम्मको बाटो तयार पारेको छ । शिखरसम्मको बाटो तयार भएपछि सबै आरोहीका लागि मुख्य आरोहण खुला हुनेछ ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार