प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको सङ्कटको बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएको बताएका छन् ।
सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरू प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुने छ । तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन । सङ्कटका बेला खटिरहन प्रेरित गर्ने तपाईंका घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ ।’
आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिएका छन् । उनले अहिलेको विपतमा सुरक्षाकर्मीहरूले कैयौँ उदाहरणीय काम गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएको जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा सङ्क्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीन वटै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ । कठिन भूगोल छ । प्रतिकूल मौसम छ तर हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेष खोस्रिरहनुभएको छ ।’
प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरूले प्रभावितहरूको पीडा गहिरोसँग बुझ्नुभएको छ । बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरूसँग आग्रह गर्ने मानिसहरूको सङ्ख्या ठुलो छ । त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ ।’
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर सङ्कट व्यवस्थापनमा लागिरहेको बताउँदै सन्देशमा उनले बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको उल्लेख गरेका छन् ।
