प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार, प्रदेश तथा स्थानीय तहसहित सबै सरोकारवालाको साझा पहल र संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
मानव बेचबिखनविरुद्धको २०औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा परिवर्तन भइरहेको बताएका हुन् । दिवसको यस वर्षको नारा ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ रहेको छ ।
‘मानवसभ्यता कै कलङ्कको रुपमा रहेको मानव बेचबिखन संगठित अपराधको रुपमा विश्वभरी फैलिरहेको छ । प्रविधिको विकासक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरुप र गन्तव्यमा परिवर्तन आइरहेको छ ।
मानव बेचबिखन तथा ओसारपसारको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धता अनुरुप नीतिगत तथा संस्थागत सुधार गर्दै तहगत सरकार र सम्बन्धित सबै सरोकारवालाहरुको समन्वय र सहकार्यमा सार्थक पहलकदमीहरु लिइएका छन्,’ उनले भनेका छन् ।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ । यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने उनको भनाइ छ ।
विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई संघीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले मानव बेचबिखनमुक्त समाज निर्माणका लागि साझा पहल र संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्दै नेपाल सरकारको प्रतिबद्धतामा सबैको साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् । दिवसका अवसरमा अभियानमा निरन्तर क्रियाशील सबैमा उत्साह र ऊर्जा प्राप्त होस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।
