२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

स्वदेशमै विद्युत् खपत बढाउन महसुल घटाउन कसरत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी विद्युत् महसुल र धेरै विद्युत् खपत गर्ने उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।

विराटनगरमा मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका प्रतिनिधिसँगको छलफलमा उनले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै उपयोग गर्ने गरी महसुल संरचना सुधारमा सरकार केन्द्रित रहेको बताए ।

मन्त्री श्रेष्ठका अनुसार सुनसरी–मोरङ क्षेत्रमा नौ नयाँ सबस्टेसन थपिँदैछन् । ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ । उनले उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता, प्रसारण लाइन र आपूर्ति संरचनाबारे स्पष्ट जानकारी उपलब्ध गराउने प्रणाली विकास गरिने बताए ।

उद्योगीहरूले नियमित र गुणस्तरीय विद्युत् आपूर्ति, बर्जु र केरौन सबस्टेसन शीघ्र निर्माण, कटहरी औद्योगिक क्षेत्रमा पूर्वाधार विस्तार तथा डिमान्ड शुल्क हटाउन माग गरेका छन् । उनीहरूले अनुमति र पूर्वाधार सुनिश्चित भए पाँचदेखि ५० मेगावाटसम्म विद्युत् खपत गर्ने गरी लगानी गर्न तयार रहेको बताएका छन् ।

त्यस्तै, अर्बभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादनको अनुमति, ट्रान्सफर्मर तथा कन्डक्टर–केबलको गुणस्तर परीक्षण प्रभावकारी बनाउन र विद्युत्मा लगाइएको भ्याट हटाउनसमेत उद्योगीहरूले माग गरेका छन् ।

विद्युत् महसुल र अन्य लागत घटाउन सके उत्पादन लागत कम हुने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनीहरूको भनाइ थियो । छलफलमा विद्युत् आपूर्ति, औद्योगिक पूर्वाधार, महसुल संरचना र स्वदेशमै विद्युत खपत बढाउने उपायबारे विचार आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार