नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताएका हुन् ।
‘हामी बढी कार्यनीतिमा अल्झियौ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो ।’ त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फसेको स्वीकार गरे ।
‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले भने, ‘तर हाम्रो बैरी भने कार्यनीति छाडेर रणनीतिमा केन्द्रित भयो । उनीहरूले कसरी नेपालबाट कम्युनिष्टलाई सखाप पार्ने भनेर केन्द्रित भए ।’ उनले नेपालमा उर्बर रूपमा अघि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले कसरी धक्का खायो भनेर गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
संयोजक प्रचण्डले विगतको अनुभवबाट गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै भने, ‘उर्बर रुपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन आज निकै ठुलो धक्का खानेगरी रक्षात्मक अवस्थामा कसरी आइपुग्यो ? यसबारे गम्भीर समीक्षा आवश्यकता छ । अत्यधिक मत दिँदादिँदै पनि हामीले कहाँ कमजोरी गर्यौँ ? जहाँसम्म त्यसको निष्कर्षमा पुग्न सकिँदैन एकता सम्भव देखिँदैन ।’
४० वर्ष नेतृत्वमा रहँदा प्राप्त गरेका अनुभवबाट शान्ति प्रक्रियामा आएपछि कमजोरी भएको उनले स्वीकार गरे । रणनीतिभन्दा पनि कार्य रणनीतिमा बढी अल्झिँदा आन्दोलनले धक्का खाएको प्रचण्डले स्वीकार गरे । कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा लागेको आरोप लगाए ।
पहिला पनि अमेरिकी साम्राज्यवादीहरूले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउन नदिन निकै धेरै कसरत गरेको उनको आरोप छ । ‘हामी मन्त्री, प्रधानमन्त्री बनाउने, सरकार गठन र विघटनमा लाग्यौँ । तर हाम्रा विरोधीहरू कसरी कम्युनिस्ट सिध्याउन सकिन्छ भनेर रणनीतिक रूपमा लागेका रहेछन् । त्यसकै परिणाम हो भदौ २३ र २४ को विध्वंस,’ प्रचण्डले भने ।
