२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

देउवालाई भेटेर नैनसिंह महरले भने, ‘गगनसँग संवाद गरौं’

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । लामो समयको उपचारपछि फर्किएका देउवासँग भेटेर महरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको महरले बताएका छन् । भेटका क्रममा महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

महरले आफूहरूले पार्टीभित्र एकताका लागि सभापति गगनकुमार थापालगायत सबै पक्षसँग संवाद गरिरहेको जानकारीसमेत देउवालाई गराएका छन् । उनले देउवा र सभापति थापाबीच भेटघाट तथा संवादको आवश्यकता रहेको धारणा राखेका थिए ।

‘पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँको भूमिका महत्वपूर्ण छ । सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवाद आवश्यक छ,’ महरले भनेका छन् । महरका अनुसार देउवाले आफूले पार्टीभित्रको विवाद मिलाउन पहल गरिरहेको बताएका थिए ।

अदालतको निर्णय आएपछि थप विषयमा अघि बढ्ने धारणा देउवाले राखेका थिए । ‘आफूले मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो,’ महरले लेखेका छन् । महरले लामो समयको उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पाएपछि खुसी लागेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार