नवगठित जय नेपाल पार्टीका सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । हिमानी ट्रस्टको कार्यक्रममा शनिबार (भदौ ६) सहभागी भएका राणाले पूर्वराजासँग भेटसँगै लामो कुराकानी गरेका पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीले बताए ।
‘होटेल सोल्टीमा शनिबार भएको कार्यक्रममा भेट भएको हो । पार्टी सभापति (धवलशम्शेर)ज्यूले लामो कुराकानी भयो भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले नवगठित पार्टी दर्ता, संगठन निर्माण र गतिविधिका बारेमा पूर्वराजा ज्ञानेन्द्रलाई जानकारी गराउनुभयो ।’
भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएको उनले बताए । भेटवार्तामा उनीहरूबीच करिब दुई घन्टा ‘वान टू वान’ कुराकानी भएको हो । जय नेपाल पार्टीका नेताहरूले पनि राणा र पूर्वराजा शाहबीच छुट्टै भेटवार्ता भएको बताएका छन् ।
पार्टीका सचिवालय प्रमुख लावतीका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । उनका अनुसार भेटवार्ता ‘फलदायी’ रहेको थियो । छलफलमा जय नेपाल पार्टी गठन, पार्टीका उद्देश्य तथा मुलुकको समसामयिक राजनीतिक र सामाजिक अवस्थाबारे लामो कुराकानी भएको थियो ।
‘हामीले जय नेपाल पार्टी गठन गरेका छौं, त्यसबारे पनि उहाँलाई जानकारी गराएँ । शुभकामना आदानप्रदानका कुरा भए, समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भयो,’ राणाले भने । नयाँ पार्टी गठन गरेकोमा पूर्वराजा शाहले आफूलाई शुभकामना दिएको र राय–सल्लाहसमेत दिएको राणाको भनाइ छ ।
उनका अनुसार पूर्वराजा शाहले सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए । भेटका क्रममा राणाले जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको र पार्टीले राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्दै अघि बढ्ने कार्यदिशा लिएकोबारे पनि पूर्वराजा शाहलाई जानकारी गराएका थिए ।
