२०८३ भदौ ६ , शनिबार 22, August 2026, Saturday

जुनु प्रसाईको ‘झगडा पर्‍यो पोइसित’ (भिडियोसहित)

गायिका जुनु प्रसाईको नयाँ गीत ‘झगडा पर्‍यो पोइसित’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ । पूर्वेली लोकलयमा आधारित गीतले आधुनिक प्रस्तुतिसँग लोकसंस्कृतिको स्वादलाई जोडेको छ ।

मनोरञ्जनसँगै आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गीत तथा भिडियोमा गरिएको छ । गीतका शब्द विदुर तिमल्सिना ‘देवदूत’का हुन् भने संगीत राज सागरले दिएका छन् । गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन् । गीतको रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो ।

आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे जुनु प्रसाई भन्छिन्, ‘हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ । हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ । त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन ।’

यही सोचलाई आफ्नो सांगीतिक यात्रामार्फत अघि बढाउँदै आएकी प्रसाईले पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिरहेकी छन् । उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो । भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन् ।

भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको समेत अभिनय रहेको छ । रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअप आर्टिस्ट माही सिंहको योगदान रहेको छ । भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो । प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेशलाई भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष थप आकर्षक देखिएको छ ।

शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन् । विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पु¥याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ ।

‘झगडा पर्‍यो पोइसित’मार्फत जुनुले एउटा गीत मात्र प्रस्तुत गरेकी छैनन्, आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई समेत नयाँ पुस्तासामु पुर्‍याउने प्रयास गरेकी छन् । पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले उनलाई यस क्षेत्रमा थप स्थापित गराउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार