देशकै प्रमुख जडीबुटी निकासी नाका मानिएको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८२–०८३ मा ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट ८४ करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले देशमै सबैभन्दा बढी जडीबुटी निर्यात हुने यस नाकाबाट गत आर्थिक वर्षमा ८४ करोड २६ लाख ७४ हजार रुपैयाँ बराबरको ३७ लाख तीन हजार ८६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको जानकारी दिए । उनले पछिल्ला केही वर्षयता जडीबुटीको निर्यात पुनः बढ्दै गएको बताउँदै यसबाट पश्चिम नेपालका जडीबुटी उत्पादन गर्ने किसान, सङ्कलक तथा व्यवसायी उत्साहित भएको बताए ।
प्रमुख पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा यस नाकाबाट ८३ करोड ६४ लाख ७० हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा ७९ करोड ४८ लाख ८२ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो । पछिल्ला केही वर्षयता जडीबुटी निकासी प्रक्रियामा सहजता आएपछि नेपालगन्ज नाकाबाट यसको निर्यात क्रमशः बढ्दै गएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।
नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिटका रूपमा रहेको बताए । उनले यस नाकाबाट टिमुर, रिठा र काउलो सबैभन्दा बढी निर्यात हुने जानकारी दिए ।
औषधी, साबुन, स्याम्पु लगायतका सामग्री उत्पादनमा प्रयोग हुने यी जडीबुटी भारतसँगै जर्मनी, बंगलादेश लगायत तेस्रो मुलुकमा समेत निर्यात भइरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा स्थानीय व्यवसायीले खरिद गरी नेपालगन्ज हुँदै विदेश निर्यात गर्दै आएका छन् ।
सत्यपाटी