२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

‘अक्षरा’को तीज गीत ‘नाचौंन बारीलै’मा ‘न्यान्सी’को धमाका

सुनिता अर्यालसुनिता अर्याल । काठमाडौं । २०८३ साउन १५ गते शुक्रबार

स्वर्गीय परिक्षित ढुंगानाको पावन स्मृतिमा क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माणाधीन नेपाली कथानक चलचित्र ‘अक्षरा’को बहुप्रतीक्षित तीज गीत ‘नाचौंन बारीलै’ भव्य समारोहबीच सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर हलमा भव्य समारोहबीच तीज गीत ‘नाचौँ बारीलै’को सार्वजनिक गरिएको हो ।

तीज पर्वको मौलिक संस्कृति, नेपाली महिलाको उल्लास, आत्मीयता र सामाजिक सम्बन्धलाई आधुनिक शैलीसँग सुन्दर ढंगले प्रस्तुत गरिएको यस गीतले सार्वजनिक हुनुअघि नै दर्शक–श्रोतामाझ ठूलो उत्सुकता सिर्जना गरेको छ । निर्माण टिमका अनुसार ‘नाचौंन बारीलै’ यस वर्षको चर्चित र लोकप्रिय तीज गीत बन्ने विश्वास लिइएको छ ।

गीतमा गीतकार सुरेन्द्र राणाका सशक्त शब्द, संगीतकार कर्णराज गिरीको कर्णप्रिय संगीत तथा चर्चित गायिका समिक्षा अधिकारीको सुमधुर स्वरले गीतलाई विशेष बनाएको छ । यस्तै, नेपालका चर्चित कोरियोग्राफर रामजी लामिछानेको उत्कृष्ट नृत्य निर्देशनले गीतलाई अझ आकर्षक र जीवन्त बनाएको छ ।

गीतका मुख्य आकर्षण हुन् मिस इन्टरनेशनलको उपाधि जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएकी चर्चित मोडल तथा अभिनेत्री न्यान्सी खड्का । उनी नेपालका राष्ट्रिय गीत गायक सुमित खड्काकी सुपुत्री हुन् भने उनकी आमा बबिता खड्का सरल, संस्कारी, मृदुभाषी र प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् ।

सांगीतिक परिवारमा हुर्किएकी न्यान्सीले आफ्नो प्रतिभा, अनुशासन र अथक मेहनतका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशिष्ट पहिचान बनाउन सफल भएकी छन् । ‘नाचौंन बारीलै’मा न्यान्सी खड्काको मनमोहक अभिनय, आकर्षक व्यक्तित्व, भावपूर्ण अभिव्यक्ति र उत्कृष्ट नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाउने विश्वास गरिएको छ ।

उनको हरेक दृश्यमा आत्मविश्वास, सौन्दर्य र नेपाली संस्कृतिप्रतिको आत्मीयता झल्किएको देख्न सकिन्छ । यसैगरी चर्चित अभिनेत्री रिस्ता बस्नेतले पनि गीतमा अत्यन्तै आकर्षक प्रस्तुति दिएकी छन् । उनको मनमोहक नृत्य, सशक्त अभिनय र मन लोभ्याउने सौन्दर्यले गीतलाई थप जीवन्त र रंगीन बनाएको छ ।

न्यान्सी खड्का र रिस्ता बस्नेतको जोडीले गीतमा विशेष आकर्षण थपेको निर्माण पक्षको विश्वास छ । चलचित्र ‘अक्षरा’का निर्देशक विनयराज पौडेल तथा निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले नेपाली कला, संस्कृति र मौलिक तीज परम्परालाई आधुनिक पुस्तासम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्यका साथ गीत तयार गरिएको बताएका छन् ।

सार्वजनिक समारोहमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । गीत सार्वजनिक भएसँगै डिजिटल प्लेटफर्ममार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शक–श्रोताले पनि हेर्न र सुन्न पाउनेछन् ।

नेपाली मौलिकता, सशक्त सिर्जना, उत्कृष्ट कलाकारहरूको अभिनय र मन छुने संगीतले सजिएको ‘नाचौंन बारीलै’ यो तीजको अवश्य हेर्नुपर्ने गीतका रूपमा स्थापित हुने विश्वास गरिएको छ । निर्माण टिमले सम्पूर्ण नेपाली दर्शक–श्रोतालाई गीत हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार