२०८३ भदौ ३ , बुधबार 19, August 2026, Wednesday

कर्णालीमा मन्त्री पदका लागि तीव्र आकांक्षा, नेताहरूको दौडधुप

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८३ साउन १२ गते मंगलबार

कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्ने भएसँगै नेताहरू मन्त्री बन्ने होडमा लागेका छन् । नेकपा स्रोतका अनुसार मन्त्री बन्ने होडमा उपसभामुख यसुदा न्यौपानेदेखि यसअघि सरकारमा रहेकाहरू पनि छन् । उनीहरूले शीर्ष नेतृत्वसँग भेटघाट गरिरहेका छन् । कतिपय नेताहरूले आफूलाई ६ महिनाका लागि भए पनि मन्त्री बनाइदिन आग्रह गरिरहेको नेकपाका एक नेताले बताए ।

‘सरकार बन्नुअघि नै मन्त्रीको सूचीमा नाम पार्न सबैको दौडधुप छ,’ ती नेताले भने । नेकपाबाट मंगलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरिरहेका छन् । यस्तै यसअघि मन्त्री बनेका रणसिंह परियार, उर्मिला विश्वकर्मा, वीरबहादुर शाही, कृष्णबहादुर जिसी, भीप्रकाश शर्मा, दुर्गाबहादुर रावत र महेन्द्र केसीमध्ये कतिपयले फेरि सरकारमा जाने आकांक्षा व्यक्त गरेका छन् ।

यता तत्कालीन एकीकृत समाजवादीबाट समानुपातिक सांसद बनेकी कल्याणी खड्काले पनि मुख्यमन्त्रीको दाबी गरिरहेको चर्चा नेकपाभित्र छ । केही नेताहरूले भने संगठनात्मक आधार कमजोर रहेको अवस्थाबाट आएको नेतृत्वले एकीकरणपछि सिधै मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक नभएको टिप्पणी गरेका छन् ।

पुरानाहरूले पनि दाबी नछोडेपछि हालसम्म सरकारमा सहभागी नभएकाहरूले अवसरको न्यायोचित वितरण हुनुपर्ने आवाज उठाइरहेका छन् । पुरानालाई मात्रै अवसर दिँदा पार्टीभित्र राम्रो सन्देश नजाने अवसर नपाएकाहरूको भनाइ छ । एक सांसदले भने, ‘अवसर नपाएका साथीहरूलाई जिम्मेवारी दिनु स्वाभाविक हो । तर प्रत्येक पटक उही व्यक्तिहरू मन्त्री बन्ने हो भने नयाँ पुस्ता र अवसर नपाएकाहरूको मनोबल कमजोर हुन्छ,’ ती सांसदले भने ।

पार्टीका १४ प्रदेशसभा सदस्यमध्ये धेरैले मन्त्री वा विषयगत समितिको सभापति जस्ता जिम्मेवारी पाइसकेका छन् । तर सुर्खेतका विन्दामान विष्ट, हुम्लाकी जुम्कित लामा, रुकुम पश्चिमकी मिलन खड्का लगायतका सांसदले अहिलेसम्म कुनै सरकारमा सहभागी भएका छैनन् । नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भने सरकारमा सहभागी हुनेहरूको छनोट निश्चित मापदण्डका आधारमा गरिने बताएकी छन् ।

उनका अनुसार यसअघि मन्त्री भएकाहरूको कार्यसम्पादन, अवसर नपाएकाहरूलाई प्राथमिकता तथा समावेशी प्रतिनिधित्वलाई आधार बनाएर अन्तिम निर्णय गरिनेछ । उपसभामुख यसुदा न्यौपानेको नाम पनि मन्त्री बन्ने चर्चामा अग्रस्थानमा छ । पार्टी स्रोतका अनुसार अघिल्लो पटक मन्त्री बन्ने सम्भावना टरेपछि उनलाई उपसभामुख बनाइएको थियो । अहिले भने उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारीमा रहेको चर्चा पार्टीभित्र चलेको छ ।

यसैबीच न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा द्वन्द्वकालीन एउटा तस्बिर सार्वजनिक गर्दै ‘यही इतिहास बोकेर आएकोले होला, झुटको खेती गर्न कहिल्यै आएन’ भन्ने स्ट्याटस लेखेकी छन् । पार्टीभित्र यसलाई पनि वर्तमान राजनीतिक सन्दर्भसँग जोडेर हेरिएको छ । कर्णालीमा नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेका बेला मन्त्री पदका लागि देखिएको तीव्र आकांक्षा र आन्तरिक प्रतिस्पर्धाले नेकपाभित्र अवसर वितरणको विषयलाई सबैभन्दा पेचिलो राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार