२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

नयाँ पुस्ताको एटीआर विमान ल्याउँदै बुद्ध एयर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ५ गते मंगलबार

नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रस्थानमा रहेको बुद्ध एयरले आफ्नो उडान सेवालाई थप आधुनिक, वातावरणमैत्री र व्यावसायिक रूपमा सबल बनाउन नयाँ पुस्ताको एटीआर ७२–६०० विमान यसै साता ल्याउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ३१ असारमा आवश्यक ‘फेरी–उडान’ अनुमति पाएसँगै बुद्ध एयरले फ्रान्सको टुलुजबाट आधुनिक एटीआर ७२–६०० सिरिजको पहिलो जहाज शुक्रबार काठमाडौं अवतरण गराउन लागेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जनाए ।

नेपाली आकाशमा हुन लागेको ७० सिट क्षमताको एटीआर ७२–६०० सिरिजको जहाजको आगमनलाई नेपाली उड्डयनकर्मीले विमान संख्या थपघट मात्र नभई आन्तरिक उड्डयनमा प्रविधिको नयाँ युगको सुरुवात भनेका छन् । झन्डै एक महिनाको अन्तरालमा बुद्धले अर्को एटीआर ७२–६०० विमान पनि फ्रान्सबाट काठमाडौं ल्याउँदैछ ।

बुद्धले प्राधिकरणबाट उक्त विमानको पनि नेपाली रजिस्ट्रेसन नम्बर पाइसकेको छ । पहिलो एटीआर ७२–६०० विमान (नाइनएन–एओएस) फ्रान्सको टुलुजबाट इजिप्ट र मस्कट हुँदै शुक्रबार काठमाडौं अवतरण गर्ने तालिका रहेको कार्यकारी अध्यक्ष बस्नेतको भनाइ छ । प्राधिकरणले जारी गरेको अनुमतिपत्र अनुसार पहिलो जहाज विदेशी पाइलट (क्याप्टेन ओलिभर मोन्थुएल र क्याप्टेन समित लाछकार)को कमान्डमा नेपाल आउँदैछ ।

दोस्रो जहाज बुद्ध एयरका नेपाली पाइलटले नै उडाएर ल्याउने जनाइएको छ । दोस्रो जहाजका लागि बुद्ध एयरका पाइलटको एउटा समूहलाई यसै साता तालिमका लागि फ्रान्स पठाइँदैछ । नेपालको भौगोलिक अवस्था र तराई क्षेत्रको उच्च तापक्रमका लागि एटीआर ७२–६०० विमान अत्यन्तै प्रभावकारी मानिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् ।

एटीआरका अनुसार आन्तरिक गन्तव्यहरूमा सञ्चालित अन्य जेट तथा टर्बोप्रोप इन्जिन भएका जहाजको तुलनामा एटीआर ७२–६०० ले प्रतिउडान झन्डै ४५ प्रतिशत कम इन्धन खपत गर्छ । नेपालको हवाई भाडा र इन्धन सरचार्जको अवधारणा टर्बोप्रोप जहाजकै सन्दर्भमा तय गरिएको हुनाले कम इन्धन खपत र लो–अपरेटिङ कस्ट भएको एटीआर ७२–६०० सँग बजारमा क्यानेडियन जेट विमानले प्रतिस्पर्धा गर्न निकै गाह्रो हुने बुद्ध एयरका एक अधिकारी बताउँछन् ।

‘यो नेपाली एभिएसनको व्यावसायिक र वातावरणीय दुवै पक्षका लागि सुखद छ,’ भुलले भने । बुद्धसँग हाल भएका पुराना १६ वटा एटीआर ७२–५०० सिरिजका जहाजलाई क्रमशः विस्थापित गर्दै नयाँ ६०० सिरिजका जहाज आयात गर्ने रणनीति बनाइएको बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले जनाए । नेपालको कानुनी प्रावधानका कारण १५ वर्षभन्दा बढी पुराना एटीआर ७२–५०० सिरिजका जहाज अन्तर्राष्ट्रिय बजारमा पाउन छाडेपछि कम्पनीले करिब १२ वर्ष पुरानो ७० सिट क्षमताको यो लेटेस्ट मोडल रोजेको हो ।

बुद्धले ल्याउन लागेको पहिलो जहाज ब्राजिल र दोस्रो स्पेनमा उडानमा रहेका वायुयान हुन् । एटीआर ७२–६०० विमानको बजार मूल्य १२ देखि १३ मिलियन डलर हाराहारी (एक अर्ब रुपैयाँभन्दा बढी) पर्ने बस्नेतले बताए । कारखानाबाट सिधै ब्रान्ड न्यु जहाज किन्दा यो विमानको बजार मूल्य कम्तीमा तीन अर्ब ५० करोड रुपैयाँ पर्छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार