२०८३ साउन २ , शनिबार 19, July 2026, Sunday

नेपालगन्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन २ गते शनिबार

नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–०८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले गत आवमा २० अर्व ९ करोड ४८ लख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए ।

गत आवमा सङ्कलन भएको राजस्व आव २०८१–८२ भन्दा केही न्यून भएको भन्सार कार्यालयले जनाएको छ । गत आवका लागि नेपालगन्ज भन्सार कार्यालयले २४ अर्व ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजश्व संकलनका लागि लक्ष्य प्राप्त गरेको थियो ।

लक्ष्यको करिब ८१.८७ प्रतिशत राजस्व संकलन भएको छ । भन्सार कार्यालयका अनुसार आर्थिक बर्ष २०८१–०८२ मा २० अर्व २८ करोड ५१ लख ८१ हजार रुपैयाँ र आर्थिक बर्ष २०८०–०८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगन्ज नाकाबाट जडिबुटी लगायतका सामग्रीको निकासी हुने गरेको छ ।

विश्वब्यापी आर्थिक मन्दी लगायतका कारण राजस्व संकलन लक्ष्य अनुसार संकलन हुन नसकेको हो । इन्धन संकट र इन्धनको मूल्यमा अप्रत्याशित वृद्धिका कारण विकास निर्माणको गतिविधि, बजेट कार्यान्वयन तथा वस्तुहरूको आपूर्तिमा संकुचन आउँदा राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय कालोपत्रे सडकमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्ड तथा अन्य कच्चा पदार्थहरूको मूल्य अत्यधिक बढ्दा आयात घटेको भन्सार तथ्यांकले जनाएको छ । पुँजिगत खर्च अपेक्षाकृत कम हुनु, लगायतका कारण पनि लक्ष्यअनुसार राजश्वक संकलन हुन नसकेको हो ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार