नेपाली बजारमा लेबलिङ नभएका र गुणस्तरहीन महको बिगबिगी छ । सडक पेटीमा झोलामा राखेर बिनाकुनै मापदण्ड मह बिक्री हुने गरेका छन् । यस्ता महमा उपभोक्ताहरू ठगिएका मात्र हैन, जनस्वास्थ्यमै गम्भीर असर परिरहेको छ । नक्कली र मिसावटयुक्त महको जथाभावी बिक्री भइरहेको पाइएपछि नियमनकारी निकाय र प्रहरी प्रशासनले केही सक्रियता बढाएका छन् ।
गुल्मीमा मंगलबार प्रहरीले ठुलो परिमाणमा गुणस्तरहीन मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकाको बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको करिब ४०० केजी महजस्तो देखिने शंकास्पद पदार्थ प्रयोगशाला परीक्षण गर्दा अखाद्य प्रमाणित भएको थियो ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय पाल्पामा गरिएको परीक्षणले उक्त नमुना सरकारले तोकेको मापदण्ड अनुकूल नरहेको पुष्टि गरेपछि सरोकारवाला निकायहरूको रोहवरमा त्यसलाई खाडल खनेर नष्ट गरिएको थियो । स्थानीय प्रशासनले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता गतिविधिविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।
बजारमा नाम चलेका स्थापित ब्रान्डहरू समेत गुणस्तरको कसीमा कमजोर देखिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा गत जेठ अन्तिम साता डाबर नेपाल प्रालिले उत्पादन गरेको ५०० ग्रामको डाबर ब्रान्डको मह (ब्याच नम्बर एनबी००४७७) न्यून स्तरको पाएको थियो, जसलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार उक्त विशिष्ट ब्याचको उत्पादनलाई बिक्री–वितरण नगर्न र बजारबाट हटाउन जारी गरिएको निर्देशनले स्थापित ब्रान्डका मह खरिद गर्दा समेत उपभोक्ताले सजगता अपनाउनुपर्ने अवस्था देखाएको छ ।
शुद्ध मह कसरी थाहा पाउने ?
सर्वसाधारणले घरमै पनि महको शुद्धता सहजै जाँच्न सक्ने केही सरल विधिहरू छन् । आहारविद डा.राजु अधिकारीका अनुसार मह स्वादिलो मात्र नभई मानव शरीरका लागि अत्यन्तै गुणकारी र औषधीय महत्त्व बोकेको प्राकृतिक वस्तु हो । मानिसहरूले यसलाई निर्धक्क भएर विभिन्न रूपमा उपभोग गर्ने गरे पनि बजारमा उपलब्ध सबैजसो मह शुद्ध नहुने कुरा अधिकारी बताउँछन् ।
उनका अनुसार अचेल बजारमा मिसावटयुक्त मात्र नभई पूर्ण रूपमा कृत्रिम रसायनको मिश्रणबाट तयार पारिएका महहरू समेत भेटिने गरेका छन । जुन मानव स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छन् । यस्तो अवस्थामा उपभोक्ताहरू आफैं सचेत भएर शुद्ध मह पहिचान गर्न सक्नुपर्दछ ।
कस्तो देखिन्छ शुद्ध मह ?
महको गुणस्तर र शुद्धता पत्ता लगाउने पहिलो माध्यम यसको रङ र सुगन्ध भएको डा. अधिकारीको भनाइ छ । सामान्यतया धेरैले सङ्लो देखिने महलाई शुद्ध ठान्ने गरे पनि वास्तविक रूपमा शुद्ध मह पूर्ण रूपमा सङ्लो नभई अलि मैलो देखिन्छ । प्राकृतिक महको अर्को विशेषता भनेको यो तापक्रम घट्दा राम्ररी जम्ने गर्दछ । घाममा राख्दा समेत यसको रङमा कुनै परिवर्तन आउँदैन ।
यसको गन्धमा पनि प्राकृतिक रूपमै हल्का अमिलोपनको मिश्रण पाउन सकिन्छ । सर्वसाधारणले घरमै पनि सामान्य परीक्षण गरेर महको शुद्धता पत्ता लगाउन सक्ने केही सरल विधिहरू डा.अधिकारीले सुझाएका छन् । एक गिलास पानीमा एक चम्चा मह हालेर हेर्दा यदि त्यो पानीमा नुन घोलिएझैं तुरुन्तै घुल्छ भने त्यसमा मिसावट भएको वा त्यो प्रशोधित भएको बुझिन्छ ।
शुद्ध मह पानीमा छिटो घुल्दैन र केही भाग पानीको सतहमा तैरिएर बस्छ । त्यस्तै, चोर औँला र बुढी औँलाको बीचमा मह राखेर फैलाउँदा यदि त्यो रबर जस्तै तन्किन्छ भने शुद्ध मानिन्छ, तर सजिलै टुक्रिएमा त्यो शुद्ध हुँदैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा सजिलै टाँसियो भने पनि त्यसलाई शुद्ध महका रूपमा चिन्न सकिन्छ ।
मौरीपालनको सिजन र स्रोतले पनि महको गुणस्तर निर्धारण गर्दछ । डा.अधिकारीका अनुसार सूर्यमुखी र तोरी फुल्ने सिजनमा निकालिएको मह स्वास्थ्यका लागि राम्रो मानिन्छ । अचेल उन्नत जातका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पालेर मह निकाल्ने गरिएको पाइन्छ ।
विशेषगरी प्राकृतिक फूलबारीमा चराउनुको सट्टा फलफूल बढी बिक्री हुने वा चिनीजन्य पदार्थ सहजै पाइने बजार क्षेत्र वरपर मौरी पालेर निकालिने मह स्वास्थ्यका लागि हितकर हुँदैन । यस्तो अस्वास्थ्यकर महको प्रयोगबाट बच्न उपभोक्ताहरू सचेत हुन जरुरी छ ।
महको महत्त्व
महलाई प्रकृतिको अनुपम उपहार अर्थात् अमृतसमान मानिन्छ । यसमा मानव शरीरलाई आवश्यक पर्ने विभिन्न सूक्ष्म पोषक तत्त्वहरू र शरीरलाई न्यानो बनाउने गुणहरू प्रशस्त मात्रामा पाइने डा.अधिकारी बताउँछन् । यसमा प्रोटिनका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘फिनोल’ नामको एन्टिब्याक्टेरियल तथा एन्टिबायोटिक तत्त्वहरू हुन्छन् ।
महमा रहेका यी सबै प्राकृतिक घटकहरूले शरीरलाई भाइरस तथा ब्याक्टेरियाको संक्रमणबाट जोगाउन र समग्र स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्दछन् । आजभोलि धेरै मानिसहरूमा बिहान उठेर तातोपानीमा मह मिसाएर खाने वा तातोपानीसँग मह पिउने चलन छ, जसलाई डा.अधिकारीले अस्वास्थ्यकर बानीको रूपमा औंल्याएका छन् ।
महलाई बढी तातो पानी वा तरल पदार्थमा मिसाउँदा यसमा रहेका उपयोगी गुणहरू नष्ट हुनुका साथै कहिलेकाहीँ यो विषाक्तसमेत बन्न सक्छ । मह सेवन गर्ने सबैभन्दा उत्तम तरिका भनेको यसलाई सीधै चम्चाबाट चाटेर खानु हो । मनतातो पानी बेग्लै पिउने र महलाई बेग्लै चाटेर खाँदा मुखमा रहेका सूक्ष्म र्याल ग्रन्थीहरू सक्रिय भई यसले शरीरमा प्रभावकारी रूपमा काम गर्छ ।
महको उपभोग गर्दा ठुला व्यक्तिले दैनिक एक टेबलचम्चा र बालबालिकाले एक चियाचम्चा खानु उपयुक्त हुने डा.अधिकारी बताउँछन् । मह शुद्ध छ भने रुचि र शरीरको क्षमताअनुसार योभन्दा केही बढी खाँदा पनि यसले हानि गर्दैन ।
शरीर कमजोर भएको अवस्थामा, खानामा रुची नहुँदा, आँखाको ज्योति बढाउन, मुटुलाई स्वस्थ राख्न, यौन क्षमता बढाउन तथा चिसो वा रुघाखोकी लागेको बेला महको सेवन अत्यन्तै फलदायी हुन्छ । आयुर्वेदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पूर्ण रूपमा शुद्ध महको सही तरिकाले नियमित सेवन गर्दा मधुमेहजस्तो स्वास्थ्य समस्यालाई समेत सकारात्मक रूपमा व्यवस्थापन गर्न वा निको पार्न मद्दत पुग्दछ ।
सत्यपाटी