२०८३ असार २४ , बुधबार 8, July 2026, Wednesday

मन्त्रिपरिषद् निर्णय : मुख्यसचिवमा गोविन्द, अरु के-के भयो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २४ गते बुधबार

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई नेपालको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले अब सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् । हालका मुख्यसचिव सुमनराज अर्याल असार २५ देखि अवकासमा जाँदैछन् ।

उनी ५८ वर्षे उमेरहदका कारण अवकास हुन लागेका हुन् । अर्यालको अवकास हुन लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । कार्की २९औँ मुख्यसचिव बनेका हुन् । मुख्यसचिवले संघीय सरकारका मन्त्रालय तथा निकायबीच समन्वय गर्ने, मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने तथा प्रशासनिक सुधारका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन् ।

उपत्यका विकास आयुक्तमा शाक्य

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ । उपत्यकाको योजनाबद्ध विकास, पूर्वाधार विस्तार र सहरी व्यवस्थापनसँग सम्बन्धित कामको नेतृत्व विकास आयुक्तले गर्ने गर्छन् ।

सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । यस निर्णयसँगै गेटा अस्पताललाई स्वास्थ्य शिक्षा र चिकित्सा सेवासँग जोडेर सञ्चालन गर्ने बाटो खुलेको छ ।

चार वटा नियमावली स्वीकृत

मन्त्रिपरिषद् बैठकले विभिन्न नियमावली तथा रणनीतिक दस्तावेज स्वीकृत गरेको छ । सरकारका प्रवक्ता पोखरेलका अनुसार बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ स्वीकृत गरेको छ । त्यस्तै, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ ।

बैठकले कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ भने मानव अधिकार सम्बन्धी छैटौँ कार्ययोजना पनि पारित गरेको छ । मन्त्रिपरिषद्ले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारले यस योजनामार्फत भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि र सार्वजनिक प्रशासनमा सुशासन कायम गर्ने लक्ष्य राखेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने ।

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत ।

४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत ।

५.कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत ।

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत ।

७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत ।

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार