२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday

बाँकेमा घाँसको बीउ उत्पादनबाट २० लाख आम्दानी

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २३ गते मंगलबार

बाँके जिल्लामा ३० हजार किलोभन्दा बढी घाँसको बीउ व्यावसायिक रूपमा उत्पादन गरी २० लाख रुपियाँभन्दा बढी आम्दानी गरिएको छ । खजुरा–२ गौघाटमा करिब ३४.४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन कार्यालयले व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गरी किसानलाई बिक्री वितरण गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०८२–०८३ मा राष्ट्रिय पशु प्रजनन कार्यालयले विभिन्न प्रजातिका ३० हजार ६३० किलो घाँसको बीउ उत्पादन गरी त्यसबाट २० लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले बताए । उनका अनुसार कार्यालयबाट उत्पादन भएको घाँसको बीउमध्ये १९ हजार २२६ किलो किसानलाई बिक्री वितरण गरिएको छ भने एक हजार ७९० किलो कार्यालयमै खपत भएको छ ।

हाल ११ हजार ४०३ किलो घाँसको बीउ मौज्दात रहेको छ । कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच, स्टाइलो, कुक्स, नेपियरलगायतका घाँस तथा बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु, मेन्डोला लगायतका डालेघाँसका बीउ तथा बिरुवा उत्पादन गरी बिक्री वितरण गर्दै आएको प्रमुख खनालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्रीबाट कार्यालयले २० लाख ४७ हजार ७०४ रुपियाँ आम्दानी गरेको छ ।

कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगा, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन र वितरणसमेत गर्दै आएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीका अनुसार अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भइरहेको छ । वर्षा नहुँदा यस वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाइ भएको उनले बताए ।

प्राविधिक जैसीका अनुसार कार्यालयले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुमसहित २५ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ । कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधारअन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगा, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन र वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक जैसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार