२०८३ असार १७ , बुधबार 1, July 2026, Wednesday

आजदेखि घट्यो इन्धन र एलपी ग्यासको मूल्य, अब कति पर्ला ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १७ गते बुधबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ । आज बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो ।

त्यसैगरी खाना पकाउने ग्यास पनि प्रतिसिलिन्डर १०० रुपैयाँ सस्तो भएको निगमले जनाएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ । यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ तिरे पुग्नेछ ।

त्यस्तै एलपी ग्यास १४.२ किलोको २०६० रुपैयाँ र ७.१ किलोको १ हजार ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमको दाबी छ । त्यसो त निगमले अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि इन्डियन आयल कर्पोरेसनलाई देखाउँदै मूल्य घटाउन मानेको थिएन ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार