२०८३ असार ८ , सोमबार 22, June 2026, Monday

११ महिनामा ३८ अर्ब ८३ करोड ९२ लाखको धान चामल आयात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ८ गते सोमबार

चालु आर्थिक वर्ष २०८२–०८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धान चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको सात लाख ११ हजार ५२० टन धान चामल आयात भएको हो । गत आव २०८१–०८२ सोही अवधिको तुलनामा समग्र धान चामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।

गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको सात लाख ५३ हजार ३०५ टन धानचामल नेपाल भित्रिएको थियो । त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको पाँच लाख २१ हजार २६९ टन कच्चा धान आयात भएको थियो । तर, चालु आव भने यो परिमाण घटेर चार लाख ६१ हजार १०८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।

कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ । गत वर्ष एक अर्ब १६ करोड ६२ लाख बराबरको दुई हजार ५७० टन बिउ आयात भएकोमा यस वर्ष एक अर्ब २९ करोड ९४ लाख बराबरको दुई हजार ९९३ टन धानको बिउ आयात भएको छ । तथ्यांक अनुसार बासमती चामल आयात गत वर्षको सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ (६६ हजार ३९७ टन) बाट वृद्धि भई चालु आव सात अर्ब ८६ करोड ३१ लाख (६७ हजार ६६७ टन) पुगेको छ ।

त्यसैगरी अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख (एक लाख ५६ हजार २६१ टन) रहेकोमा यस वर्ष बढेर ११ अर्ब आठ करोड ८४ लाख (एक लाख ७१ हजार ५४ टन) पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ । यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ ।

गत वर्ष २८ करोड पाँच लाख बराबर छ हजार ८०२ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड एक लाख बराबरको आठ हजार ६८९ टन भित्रिएको छ । त्यस्तै ब्राउन राइस आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको छ । गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले तीन अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो । तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर दुई अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार