जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ । नयाँ शैक्षिक सत्रका लागि वैशाख ३० गतेसम्ममा कार्यालयले १७ करोड ११ लाख ३५ हजार ३४९ रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख ३१ गतेसम्म नेपालगन्ज कार्यालयबाट विभिन्न जिल्लाका १११ बिक्रेतामार्फत १७ करोड ११ लाख ३५ हजार ३४९ रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकिएको जानकारी दिए । उनका अनुसार वैशाख ३१ गतेसम्म १२ लाख ५३ हजार ४९ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ ।
कर्णालीको हुम्लामा दुई वटा बिक्रेतामार्फत १६ हजार १९० थान, डोल्पामा १० वटा बिक्रेतामार्फत ३७ हजार ५८४ थान, रुकुमपश्चिममा २१ वटा बिक्रेतामार्फत एक लाख ७० हजार ८७१ थान, जाजरकोटमा चार वटा बिक्रेतामार्फत ४७ हजार ५३१ थान र सल्यानमा १५ वटा बिक्रेतामार्फत ७१ हजार ७५० थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।
त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा बिक्रेतामार्फत ३१ हजार ३८४ थान, रोल्पामा १५ वटा बिक्रेतामार्फत एक लाख ९५ हजार १२० थान, दाङमा चार वटा बिक्रेतामार्फत दुई लाख ६० हजार ६५ थान, बर्दियामा २२ वटा बिक्रेतामार्फत एक लाख ९५ हजार ८११ थान र बाँकेमा १६ वटा बिक्रेतामार्फत दुई लाख २६ हजार ७४३ थान गरी जम्मा १२ लाख ५३ हजार ४९ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रमुख खनालले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा चैत १६ गतेदेखि ३० गतेसम्म तालिका बनाएर सोहीबमोजिम जिल्ला जिल्लाका बिक्रेतालाई पाठ्यपुस्तक बिक्री वितरण गरिएको थियो भने वैशाख १ गतेदेखि दोस्रो चरणअन्तर्गत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । कक्षा १ को तीन हजार ८०७ थान, ३ को ३३ हजार ११४ थान, कक्षा ४ को ५८४ थान, कक्षा ५ को ८६ हजार ३७६ थान, कक्षा ६ को दुई लाख पाँच हजार ४५९ थान, कक्षा ७ को दुई लाख १२ हजार ३४८ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।
त्यसैगरी कक्षा ८ को दुई लाख ४२ हजार ४३ थान, कक्षा ९ को दुई लाख ३८ हजार ४०७ थान, कक्षा १० को दुई लाख १७ हजार २२७ थान, कक्षा ११ को सात हजार ३३ थान र कक्षा १२ को छ हजार ६५१ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिए । नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।
गत वर्ष १० जिल्लाका १२० बिक्रेतामार्फत १९ करोड ६० लाख रुपैयाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण भएको र यस वर्ष २१ करोड रुपैयाँ बराबरका १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी नौं स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री वितरण गर्दै आएको छ ।
सत्यपाटी