बाँके लगायत पश्चिम नेपालका तराईका जिल्लाहरूमा गर्मी बढेसँगै तरबुजा (तर्बुजा)को माग अत्यधिक बढ्न थालेको छ । गर्मी मौसममा तराईका जिल्लाहरूमा बढी खपत हुने तरबुजाको खेती बाँकेको राप्ती नदीको बगर क्षेत्रमा ठुलो परिमाणमा हुन थालेपछि माग अनुसारको आपूर्तिमा अहिले कुनै समस्या नरहेको किसान र व्यवसायीले बताएका छन् ।
हाल राप्ती नदीको सिधनियास्थित बगरको ११० बिघा जमिनमा करिब ७० लाख रुपैयाँ लगानी गरी तरबुजा खेती गरिएको छ । भारतको बागपतबाट आएका किसान मोहम्मद बसिरले अहिले तरबुजा बिक्री गर्न भ्याइनभ्याइ रहेको बताए । यस वर्ष करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गर्दै उनले नेपालीले खेती नगरी बाँझो छाडेको बगरमा आफूहरूले कडा मिहिनेत गरेर पैसा फलाएको दाबी गरे ।
नेपालगन्जका फलफूल व्यवसायी रमजान कवडियाले केही वर्षअघिसम्म भारतबाट आउने तरबुजामा निर्भर रहनु परेकोमा हाल बाँकेमै ठुलो परिमाणमा उत्पादन भइरहेकाले कुनै समस्या नरहेको बताए । बाँकेमा उत्पादित तरबुजाले बाँकेसहित बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दाङसम्म राम्रो बजार पाएको उनले जानकारी दिए ।
डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीको बगरमा अहिले तरबुजा बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ । नदी किनाराको खेतमै खरिद गर्नेहरूको भिड लाग्न थालेपछि किसानहरू उत्साहित भएका छन् । बगरमा तरबुजा तयार भएको र गर्मी बढेसँगै बगरमै पुगेर खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । राप्ती पुलको किनारामा तरबुजाको रास लगाएर बसेका भारतीय किसानहरूलाई ग्राहकसँग कुरा गर्ने फुर्सदसमेत छैन ।
भारतीय किसान सब्बिर खानले नेपालगन्ज, गुलरिया, सुर्खेत र दाङको घोराहीबाट गाडी लिएर सिधै खरिद गर्न आउनेहरूको ताँती लाग्ने गरेको बताए । नेपालगन्ज–हुलाकी सडक प्रयोगकर्ताहरूले पनि गाडी रोकेर तरबुजा किन्ने गरेका छन् । धेरै माग आएका बेला ट्रयाक्टर र ट्रकमा लोड गरी बजार पठाउने गरिएको अर्का किसान साहिद खानले जानकारी दिए ।
नेपालगन्जबाट हुलाकी सडक हुँदै राप्तीसोनारी, नरैनापुर तथा दाङ, बुटवल र काठमाडौँ जाने अधिकांश यात्रीहरूले राप्ती नदीको पुलपारि बगरमा बेच्न राखिएका तरबुजा किनेर लैजाने गरेका छन् । किसानका अनुसार नेपालगन्ज, कोहलपुर, बर्दिया र सुर्खेतबाट दिनहुँ तरबुजाको माग आइरहेको छ । गर्मी अझै बढ्दै जाँदा तरबुजाको माग र व्यापार पनि थप बढ्ने देखिन्छ ।
सत्यपाटी