२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २८ गते सोमबार

बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि गरेको छ ।

संघका अनुसार पछिल्ला चार दिनभित्रै अन्डाको मूल्य दोस्रो पटक बढाइएको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४०० रुपैयाँ थियो ।

त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ४८५ रुपैयाँ कायम गरिएको छ । एक्सएल अन्डाको मूल्य पनि ३५ रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको संघले जनाएको छ ।

संघका अनुसार देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण हालसम्म पाँच लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट भएपछि उत्पादनमा ठूलो गिरावट आएको छ । उत्पादन घट्दा बजारमा माग उच्च भएकाले मूल्य समायोजन गर्न बाध्य भएको संघको भनाइ छ ।

अध्यक्ष पोखरेलले मूल्य वृद्धि भए पनि किसानले अझै वास्तविक लागत मूल्य नपाएको बताएका छन् । उनका अनुसार उत्पादन लागत बढ्दै गएको र सरकारी राहत समयमै नपाउँदा किसानहरू संकटमा परिरहेका छन् ।

बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि उपभोक्ता मूल्यमा समेत असर पर्ने देखिएको छ । संघले समयमै राहत र नीतिगत सहयोग नभए कुखुरापालक किसानहरू पलायन हुने जोखिम बढ्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार