२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

आजदेखि रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद’ प्रशिक्षण

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २६ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।

वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने यस कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ। जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने छन् ।

त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्ने छन् ।

दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् ।

साथै, सह–महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

यस दुई दिने सघन प्रशिक्षणले रास्वपाका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका मुद्दाहरूमा सदनमा अझ सशक्त र प्रखर रूपमा प्रस्तुत हुन आवश्यक ऊर्जा र ज्ञान प्रदान गर्ने विश्वास रास्वपाले लिएको बताइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार