२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

सात वटा छोटी भन्सारमध्ये बाँकेमा एउटा मात्रै कायम

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २६ गते शनिबार

बाँकेमा सशस्त्र द्वन्द्वकालअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार एउटा मात्रै कायम हुने भएको छ । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार बाँकेमा छोटी भन्सारका रूपमा नरैनापुर मात्रै उल्लेख गरिएको छ ।

सोही अनुसार बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा ल्याउने तयारी थालिएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगन्ज भन्सार अन्तरगत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताए ।

‘यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो,’ उनले भने । भन्सार नियमावली, २०८३ मा बाँकेको नरैनापुरस्थित छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी छन् । नरैनापुरको छोटी भन्सार पुनःसञ्चालनका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिए ।

भन्सार कार्यालय प्रमुख पौडेलले भने, ‘शुक्रबार भन्सार विभागको केन्द्रीय टोली आउँदैछ, यसबारे थप जानकारी र आवश्यक निर्देशन प्राप्त हुनेछ ।’ भन्सार कार्यालयका अनुसार नेपालगन्जमा यसअघि सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भङ्घोटना, साईगाउँ र उढरापुर गरी सात वटा छोटी भन्सार कार्यालय थिए ।

कार्यालयका प्रमुख पौडेलले भन्सार विभागबाट आवश्यक निर्णय प्राप्त भएपछि नरैनापुरमा छोटी भन्सार कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य कार्यालय बन्द भए पनि छोटी भन्सारमध्ये नरैनापुरको मात्रै अहिले सञ्चालनमा आउने गरी तयारी भएको छ,’ उनले भने ।

अवैध समान ओसारपसारका लागि यो भन्सारको दुरुपयोग हुनसक्ने जोखिम भने रहेको उल्लेख गर्दै उनले भन्सार जाँचलाई कडाइ गरिने बताए । नरैनापुरबाट आलु, प्याज र केही पशु आउन सक्ने उनको भनाइ छ । सशस्त्र द्वन्द्वको समयमा असुरक्षा भएपछि छोटी भन्सार कार्यालय हटाइएको हो । तीमध्ये केही भन्सार कार्यालयका भवन जीर्ण भएर भत्किसकेका छन् ।

उद्योग वाणिज्य सङ्घ नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालनमा आउनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गर्दै उनले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा सघाउ पुग्ने उल्लेख गरे ।

सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकामा हुने घुइँचो घटने विश्वास व्यक्त गरे। उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

‘चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ। यसले गर्दा राज्यलाई राजश्व सङ्कलनमा पनि थप टेवा पुग्नेछ,’ श्रेष्ठले भने । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जका व्यवसायीका लागि यो सकारात्मक अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने धारणा राखे । द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात वटा छोटी भन्सार सुरक्षा सम्वेदनशीलताका कारण बन्द भएका थिए ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार