२०८३ वैशाख २२ , मंगलबार 5, May 2026, Tuesday

राष्ट्रपतिले जारी गरे सरकारले पठाएका आठ वटै अध्यादेश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २२ गते मंगलबार

सरकारले पठाएका सबै अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । पछिल्लो पटक मंगलबार वैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । यसअघि सात वटा अध्यादेश जारी गरेका थिए ।

सरकारले आठ वटा अध्यादेश पठाएको थियो । त्यसमध्ये सात वटा अध्यादेश सहजरुपमा जारी भए पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विवाद भएको थियो । राष्ट्रपति पौडेलले पुनर्विचारका लागि वैशाख १४ मा अध्यादेश फिर्ता पठाएका थिए ।

तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेरि सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन् । यसअघि वैशाख २० मा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका थिए ।

त्यसअघि वैशाख १९ मा तीन वटा अध्यादेश जारी गरेका थिए । जसमा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका थिए ।

त्यस्तै, वैशाख १८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिँ) निवारण (तेस्रो संशोधन) अध्यादेश र वैशाख १७ मा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए । पहिलो अध्यादेश वैशाख १७ मै जारी भएको थियो । जुन, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ रहेको थियो । सरकारले संसद् वैठक स्थगित गरेर अध्यादेश ल्याएपछि आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार