२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

सीमामा कडाइले बिस्कुट उद्योगी उत्साहित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ९ गते बुधबार

सरकारले बिस्कुट तथा कन्फेक्सनरी क्षेत्रमा अवैध तथा अनियन्त्रित आयात नियन्त्रण गर्ने निर्णय गरेपछि स्वदेशी बिस्कुट उद्योग उत्साहित बनेका छन् । नेपाल बिस्कुट उत्पादक संघले सरकारको पछिल्लो कदमलाई उद्योग, रोजगारी र राजस्व सबै दृष्टिले सकारात्मक भएको बताएको छ ।

संघका अनुसार पछिल्ला वर्षहरूमा छिमेकी मुलुकबाट हुने अनियन्त्रित आयातका कारण नेपाली बिस्कुट उद्योग गम्भीर दबाबमा परेको थियो । स्वदेशी उत्पादनको बजार हिस्सा घट्दै जाँदा उद्योगहरूको सञ्चालन लागत बढ्ने र धेरै उद्योग बन्द हुने अवस्था सिर्जना भएको संघको भनाइ छ ।

नेपालमा करिब ४० वटा बिस्कुट उद्योग दर्ता भए पनि हाल १७ वटा मात्र नियमित सञ्चालनमा रहेको र बाँकी उद्योग विभिन्न कारणले बन्द अवस्थामा रहेको संघले जनाएको छ । यसले उत्पादन क्षमता र रोजगारी दुवैमा असर पारेको उल्लेख गरिएको छ ।

सरकारको पछिल्लो निर्णयले कच्चा पदार्थको अनियन्त्रित आयात तथा तयार बिस्कुटको बजार प्रवेश नियन्त्रण हुने र स्वदेशी उत्पादनलाई प्राथमिकता मिल्ने विश्वास उद्योगीहरूले व्यक्त गरेका छन् । यसले उत्पादन विस्तार, बजार स्थिरता र आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संघले सरकारको कदम कार्यान्वयन प्रभावकारी भएमा उद्योग क्षेत्रमा करिब पाँच हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुन सक्ने अनुमान गरेको छ । साथै, आन्तरिक उत्पादन वृद्धि भई देशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।

उद्योगीहरूले बिस्कुट उद्योगलाई आत्मनिर्भर बनाउन दीर्घकालीन नीति आवश्यक रहेको भन्दै सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरेका छन् । स्वदेशी उद्योगलाई संरक्षण र प्रोत्साहन दिए मात्र उत्पादन वृद्धि, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरण सम्भव हुने उनीहरूको निष्कर्ष छ ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार