२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

जमुना बर्षा शर्माजमुना बर्षा शर्मा । पोखरा । २०८३ वैशाख ४ गते शुक्रबार

सरकारले आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको हो ।

यसअघि हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुने गरेको थियो । दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढ्ने र यसले होमस्टेदेखि ठूला होटलसम्मको व्यवसायलाई चलायमान बनाउने व्यवसायीहरूले बताए । विशेषगरी आन्तरिक पर्यटकमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले यो निर्णयलाई व्यवसाय पुनरुत्थानको एउटा बलियो सम्भावनाको रूपमा हेरेको छ ।

यसअघि पनि परीक्षणका रूपमा दुई दिने बिदा दिने निर्णय भए तापनि पूर्ण कार्यान्वयन हुन सकेको थिएन । तर, यसपटकको निर्णयलाई प्रभावकारी बनाउन सके पर्यटनमा गुणात्मक परिवर्तन आउने अपेक्षा व्यवसायीको छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुई दिने बिदाले ‘विकएन्ड ट्राभल’ को संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

उनले इन्धन खपतमा मात्र केन्द्रित नभई पर्यटकीय दृष्टिकोणबाट यसलाई दीर्घकालीन रूपमा लैजान सके पर्यटनमा ठूलो प्रभाव पर्ने बताए । सुवेदीका अनुसार नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा पर्यटक ५० प्रतिशतले बढ्ने गर्छन् । यद्यपि, इन्धनको मूल्यवृद्धिले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले यसलाई चुनौतीपूर्ण रहेको पनि उनले उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारापहारीले दुई दिने बिदाले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र छोटो समयमै यात्राको योजना बनाउन सहज हुने बताए ।

यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बिदाको प्रभाव देखिन थालेको र मुस्ताङ, नवलपुर, तनहुँ जस्ता आसपासका जिल्लाका ग्रामीण पर्यटकीय गाउँहरूमा पनि चहलपहल बढ्न थालेको जानकारी दिए । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले यो निर्णयले पदयात्रा (ट्रेकिङ) पर्यटनमा उल्लेख्य टेवा पुग्ने र पोखरालाई उत्कृष्ट ‘विकएन्ड ट्रेकिङ डेस्टिनेशन’का रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।

व्यवसायीहरूमा उत्साहका साथै केही संशय पनि देखिएको छ । इन्धन अभाव वा यातायातमा कडाइ गरिएमा निजी सवारीमा आउने पर्यटक प्रभावित हुन सक्ने जोखिम रहेको उनीहरूले बताए । पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले नीतिगत अस्थिरता पर्यटनका लागि चुनौतीपूर्ण हुने भएकाले होटलहरूले दीर्घकालीन प्याकेज तयार गर्न नीतिको निरन्तरता आवश्यक रहेकोमा जोड दिए ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार