२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

काम नगर्ने निर्माण कम्पनीलाई बबई सिँचाइ आयोजनाको अल्टिमेटम

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८३ वैशाख ४ गते शुक्रबार

बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने एक निर्माण कम्पनीलाई पाँच करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आयोजनाले वैशाख ४ गते एक सूचना जारी गर्दै गुलरिया, बर्दियाको अमन कन्स्ट्रक्सन कम्पनीलाई उक्त रकम बुझाउन निर्देशन दिएको हो ।

सूचना अनुसार कम्पनीले पाँच करोड ३३ लाख ४२ हजार ९६.७ रुपैयाँ सरकारी बाँकी सरह बुझाउनुपर्ने छ । यसअघि आयोजनाले २०८२ साल चैत २ गते २१ दिनको समय दिएर पत्र काटे पनि कम्पनीले हालसम्म रकम दाखिला नगरेको आयोजनाले जनाएको छ । आयोजनाले दिएको ३५ दिनको समय सीमा भित्र तोकिएको बैंक खातामा रकम जम्मा गरी सक्कल भौचर पेस नगरेमा कडा कानुनी प्रक्रिया अपनाइने चेतावनी दिइएको छ ।

निर्धारित समयमा रकम नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ बमोजिम कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय मार्फत सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाइने आयोजना जनाएको छ । आयोजना र अमन कन्स्ट्रक्सनबीच आर्थिक वर्ष २०७७–०७८ मा विभिन्न चार वटा ठेक्का सम्झौता भएका थिए ।

तर, कम्पनीले सम्झौता अनुसार काम नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम ती सम्झौताहरू रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय भएको थियो । आयोजनाको उक्त निर्णय विरुद्ध निर्माण कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले रिट खारेज गरिदिएको थियो । अदालतबाट रिट खारेज भएसँगै आयोजनालाई बाँकी काम अन्य प्रक्रियाबाट गराउँदा लाग्ने थप लागत रकम साबिकको निर्माण कम्पनीबाटै असुल गर्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार