२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिँदै

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २९ गते आइतबार

आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिए ।

उनका अनुसार गणक र सुपरीवेक्षकलाई तालिम दिने लगायत आवश्यक सबै तयारी पूरा भएको छ । यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

विसं २०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

‘अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार अर्थतन्त्रलाई २१ क्षेत्रमा विभाजन गरिएको भए पनि यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण संकलन गरिनेछ,’ आर्थिक गणना अधिकारी शुक्लाले भने ।

उनका अनुसार यसमा दर्ता भएका वा नभएका ठूलासाना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताल लगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइ समेटिनेछन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा नागरिकस्तरबाट पनि सहयोग र समन्वय हुुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार