प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । उपसभामुखका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामाको उम्मेदवारी परेको थियो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
उनले प्रतिनिधिसभाका कुल उपस्थित २५७ मध्ये २१५ सदस्यको मत पाइन् । जसमा आज भएको निर्वाचनमा राप्रपाकी लामाको प्रस्ताव बहुमतले अस्विकृत भएपछि ठाकुर स्वतः उपसभामुखमा निर्वाचित भएकी हुन् । आज उपस्थित भएका २५७ मध्ये रुवीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् ।

रुबी कुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो । एमाले तटस्थ रहेको थियो । सदनमा भएको मत विभाजनको प्रक्रियामा ३७ सांसद उपस्थित थिए । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्दै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराए ।
उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो । उनको बुवा सोगराथ ईट्टाभट्टमा काम गर्दै आएका थिए भने हाल वैदेशिक रोजगारीमा साउदी अरबबाट भखरै नेपाल फर्किएका छन् । उनकी आमा गृहिणी एवम् किसान हुन् । २५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकी हुन् ।

उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी छन् । पढाइ सकेपछि उनी आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् । जेनजी आन्दोलन पश्चात् उनी श्रम संस्कृति पार्टीमा जोडिन पुगेकी उनी श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुन् । योसँगै २५ वर्षकी रुबीकुमारी विश्वकै कान्छी उपसभामुख बनेकी छिन् ।
सत्यपाटी