२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

बाँकेका किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २७ गते शुक्रबार

बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका हुन् । वर्षौंदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न लागेका हुन् ।

तरकारी खेतीबाट भन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान मकै खेतीमा आकर्षित भएका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसानले बेमौसमी मकै खेती गरी राम्रो आम्दानी गर्न थालेका छन् ।

आफ्नो पुर्ख्यौली र भाडामा १०० कट्ठा जग्गा लिई जम्मा २०० भन्दा बढी कट्ठा जग्गामा मकै खेती गरेको स्थानीय किसान नेत्रराम मौर्यले बताए । उनले भने, ‘समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको बेला बिक्री गर्न सकिन्छ । कुहिने र सड़ने खतरा पनि रहँदैन । त्यसैले मकै लगाउन सुरु गरें ।’

करिब १८ कट्ठामा मकै खेती गरिरहेका स्थानीय मुनिर लोध तरकारी खेती गर्दा आफ्नो उत्पादन, बजारीकरण तथा भण्डारणमा समस्या देखिएपछि मकै खेतीमा लागेको बताए । मकै खेतीमा तरकारीभन्दा फाइदा धेरै हुने हुनाले मकै खेती गरिरहेको उनको भनाइ छ । डुडुवा–४ का ज्ञानसागर बढै पनि तरकारीभन्दा मकैमा फाइदा देखेर मकै खेतीतर्फ आकर्षित भएका छन् ।

उनले पनि गत वर्षबाट मकै खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा.विनोद घिमिरेले मकैको बजारीकरण सुनिश्चित गरिएकाले पनि मकैतर्फ किसानहरू आकर्षित भएको बताए । कार्यालय प्रमुख घिमिरेले बाँकेमा चार हजार २२८ हेक्टरमा मकै खेती हुने गरेको र त्यसबाट १९ हजार ५९९ मेट्रिकटन मकै उत्पादन हुने गरेको जानकारी दिए ।

किसानलाई छैन समस्या

डुडुवाको वडा नम्बर ६ लाई मकै खेतीको जोनका रूपमा चिनिन्छ । उक्त वडाका अधिकांश स्थानमा अहिले मकै खेतीका लोभलाग्दा दृष्यहरू देख्न पाइन्छ । करिब ६०० घरधुरी स्थानीयहरू मकै खेतीमा आबद्ध छन् । यद्यपि यहाँ अँझै पनि मल, बिउ तथा सिँचाइ समस्या समाधान हुन सकेको छैन ।

यहाँका किसानहरू नेपालमा पाइने बिउबाट उत्पादन हुने मकैको दाना साना हुने र तौल पनि कम हुने भएकाले भारतबाट मकैको बिउ ल्याएर खेती गर्ने गरेको बताउँछन् । ‘पहिला यहाँ मकै जोन कार्यक्रम थियो, अहिले छैन,’ स्थानीय सन्जित मौर्यले भने । व्यावसायिक कृषि पेसामा लागेका किसानलाई सरकारले अपेक्षा अनुरूप सहयोग नगरेको नेत्रराम मौर्यको गुनासो छ ।

‘सरकारले प्रत्येक वर्ष कृषिमा लगानी गरेको छु भन्छ तर खोई हामीलाई त थाहै हुन्न,’ उनले भने । डुडुवा गाउँपालिका–६ हिरमिनिया बल्दीपुरुवाकै स्थानीय किसान राधेश्याम यादव भने समयमा मल, बिउ नपाउने गरेको गुनासो गर्छन् । ‘बिउ, मलखाद समयमा पाइँदैन, सबै इन्डियाबाट ल्याउनुपर्ने वाध्यता छ, सिँचाइको पनि व्यवस्था छैन, के गर्ने कसरी गर्ने ?’ उनले भने ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार