२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

संसद् बैठक छाडेर हर्क साम्पाङ दार्चुलातिर

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) लगभग यो चैत महिनाभरि प्रतिनिधिसभा बैठकमा सहभागी नहुने भएका छन् ।

सोमबार सभामुख डोलप्रसाद अर्याललाई पत्र लेख्दै उनले चैत २३ गतेदेखि पाँच–सात दिनसम्म प्रतिनिधिसभा बैठक उपस्थित हुन नसक्ने जानकारी दिए । यसैबीच उनले सभामुखलाई लेखेको पत्रमा २०८२ साल उल्लेख हुनुपर्नेमा गल्तीले २०८० लेखिन पुगेको जानकारी पनि गराएका छन् ।

पत्रमा मिति गल्ती लेखिएकोबारे स्पष्टीकरण दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘२०८२ को ठाउँमा गल्तीले २०८० लेखिनु ठुलो गल्ती हो कि देशको नक्साबाट लिपुलेक लिम्पियाधुरा चुच्चे नक्सा हटाउनु या हराउनु ठुलो गल्ती हो ?’

सांसद साम्पाङले आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार हाल उनी दार्चुला भ्रमणमा छन् । उनले भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, ‘कुरा बुझ्नु देश चलाउनेहरूले हेर्नै र बुझ्नैपर्ने महाकालीतिरका पीडा । सिमाना पीडा ।’

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार