२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

आठ महिनामा नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २० गते शुक्रबार

पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को आठ महिनामा यो नाकाबाट ५३ अर्ब ९१ करोड ६३ लाख ९९ हजारको कारोबार भएको छ ।

भन्सार कार्यालयले आयात ५१ अर्ब ९८ करोड ३० लाख ७४ हजार र निर्यात १ अर्ब ९३ करोड ३३ लाख २५ हजार रुपैयाँको भएको जनाइएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा यो नाकाबाट दुई अर्ब ५८ करोड ६९ लाखभन्दा बढी अर्थात पाँच प्रतिशत कारोबार वृद्धि भएको बताए ।

उनले गत आर्थिक वर्ष २०८१–०८२ को सोही अवधीमा यो नाकाबाट ४९ अर्ब ३७ करोड ५५ लाख ६६ हजार रुपैयाँको आयात र एक अर्ब ९५ करोड ३८ लाख ६३ हजारको निर्यात गरेर ५१ अर्ब ३२ करोड ९४ लाख २९ हजार रुपैयाँको कारोबार भएको बताए । गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि निर्यात भने दुई करोडभन्दा बढी घटेको कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्मको आठ महिनामा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८१–०८२ को सोही अवधीमा १२ अर्ब ६५ करोड ९६ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आवमा गत आवको आठ महिनाको राजस्व संकलन भन्दा १० करोड रुपैयाँ बढी राजस्व संकलन भएको देखिएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख पौडेलले सबैभन्दा बढी व्यापार छिमेकी देश भारतसँग भएको जनाउँदै गत आठ महिनाको अवधीमा ४८ अर्ब ७८ करोड १७ लाख २७ हजार रुपैयाँको कारोबार भएको बताए । उनले पाँच अर्बको कारोबार भने अन्य १९ वटा देशसँग भएको जनाए । नेपालगन्ज भन्सार कार्यालयका अनुसार भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात हुने गरेको छ भने नेपालबाट सबैभन्दा बढी विभिन्न प्रकारका जडिबुटीको निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार