अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागिरहँदा नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार बिहीबार मध्यरातबाट लागु हुने गरी पेट्रोल र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १९९.५०, २०१ र २०२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य पनि क्रमशः १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । सोही कारण भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्न कठिनाइ भइरहेको बताइएको छ ।
हालको अवस्थामा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई मासिक करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
यसअघि १६ र ३१ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको घाटा अझै उच्च रहेको र सोहीअनुसार मूल्य समायोजन नगर्दा वित्तीय दबाब बढ्दै गएको उल्लेख गरिएको छ । निगमले भुक्तानी समयमै गर्न नसक्ने अवस्था आउन सक्ने र त्यसले आपूर्ति शृंखलामा असर पार्न सक्ने निगमको चेतावनी छ ।
निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोषको प्रयोग गर्दै मूल्य समायोजन गरेको स्पष्ट पारेको छ । साथै, वर्तमान चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन सबै उपभोक्तासँग आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय बजारको अस्थिरताले देशको इन्धन आपूर्ति र मूल्य व्यवस्थापनमा थप चुनौती थपिएको निगमको भनाइ छ ।

सत्यपाटी