२०८२ चैत १९ , बिहीबार 2, April 2026, Thursday

पर्यटकको रोजाइमा दाङको ‘पुरन्धरा झरना’

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ चैत १९ गते बिहीबार

पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । झरनासम्म पुग्ने बाटो पक्की निर्माण भएसँगै अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढ्नुका साथै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करिब १० मिटर टाढा पूर्वतर्फ प्राकृतिक पुरन्धरा झरना छ । करिब ४५ फिट उचाइको यो झरनाबाट खस्ने पानीको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउँछन् । झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ ।

सोही पानी बिस्तारै बबई नदीमा गएर मिसिन्छ । झरनाको अवलोकन गर्न यहाँ पुग्ने जोकोही पनि यो दृश्यले थप आकर्षित हुनुका साथै यस यामको गर्मी सुरु भएकाले झरनाको तल बनेको पोखरीमा पौडी खेल्नेको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको झरना संरक्षणका लागि खटिएका कर्मचारी गेदलाल केसीले जानकारी दिए ।

झरनाको अवलोकनका लागि जिल्लाका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाका साथै भारतका विभिन्न ठाउँबाट पनि पर्यटक आउने गरेका कर्मचारी केसीले बताए । उनका अनुसार अहिले दैनिक २०० देखि ३०० सम्म आन्तरिक पर्यटक आउने गरेका छन् । सार्वजनिक बिदा तथा शनिवारका दिनमा झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या ५०० सम्म पुग्ने केसीले बताए ।

उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिए पनि सवारीसाधनबापत पार्किङ शुल्क लिने गरिएको छ । झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानी बबई गाउँपालिकाको खातामा दाखिला हुने जनाउँदै यहाँ कार्यरत कर्मचारीलाई तलब गाउँपालिकाले प्रदान गर्ने बताए ।

जिल्ला अदालत देउखुरीका न्यायाधीश प्रकाशराज पण्डितले आफू यहाँ पुग्दा आनन्द महसुस भएको प्रतिक्रिया दिए । उनले यसलाई अझै व्यवस्थित बनाउँदै सरसफाइमा ध्यान दिनसके पर्यटन आगमन बढ्नु साथै स्थानीयको आयस्तर पनि बढ्ने धारणा राखे ।

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेलले झरनाको संरक्षण तथा संवद्र्धन गरी शौचालय, चमेना गृह लगायत भौतिक पूर्वाधार निर्माण गर्नसके पश्चिम दाङको मुहार फेरिने बताए । यसबाट स्थानीयको जीवनस्तर सुधार हुनुका साथै रोजगारीका अवसर पनि सिर्जना हुने उनको भनाइ छ ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर सिजाली, सशस्त्र प्रहरी तुलसीपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राम भण्डारी लगायतको टोलीले सबैले झरनाको विकासमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गर्ने र गराउने वातावरण बनाउन सके यो क्षेत्रलाई पश्चिम दाङको प्रमुख आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

यसरी पत्ता लागेको थियो झरना

यो झरना एकान्त ठाउँमा अवस्थित छ । यहाँ वरपर कुनै बस्ती छैनन् । ‘शताब्दीभन्दा पुरानो इतिहास बोकेको यो झरना वरिपरि पहिलो घनघोर जङ्गल रहेको र जङ्गलको बीचमा स–साना बाटो बनाएर मानिस गाईवस्तु लिएर चराउन जाने, घाँसदाउरा गर्न तथा खर काट्न जाने, गोठ बनाएर बस्नेलगायत गतिविधि सञ्चालन हुन्थ्यो,’ कर्मचारी केसीले भने, ‘यहाँ बनाइएका गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले झरना रहेको पत्ता लगाएका थिए ।’

उनका अनुसार झरनाको करिब १०० मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर अवस्थित छ । मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गरेको बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले जानकारी दिए । झरनाको विकासका लागि पालिकाले गुरुयोजना बनाई पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए ।

उनले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउनका लागि आफूहरू लागिपरेको उल्लेख गरे । यसअघि झरनाको विकासका लागि बबई गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन बोर्ड नेपालगन्जबाट विनियोजन भई पूर्वाधारका निर्माणलाई तीव्रता दिइएको अध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमले झरनासम्म पुग्न पक्की बाटो तथा सिढी निर्माण लगायत काम सम्पन्न भइसकेका छन् ।

उनले झरनाको सौर्दयता जोगाउनका लागि विज्ञको टोलीबाट यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सोही अनुरुप कार्यान्वयन भइरहेको जानकारी दिए । जिल्लामा आउने पर्यटकको रोजाइमा झरना पर्न थालेपछि यसको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धनमा योजनाबद्ध काम थालिएको उनको भनाइ छ । विगतका समयमा बाटो पक्की नहुँदा झरना क्षेत्रको अवलोकन बर्षायाममा गर्न समस्या हुने गरेकामा अहिले सहज भएको भएको स्थानीय बताउँछन् ।

अहिले पक्की बाटोसहित आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि जुनसुकै समयमा पनि यहाँसम्म पुग्न सकिने अध्यक्ष केसीले बताए । तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करिब आठ किमी दक्षिण पश्चिममा पर्ने यो झरनासम्म पुग्ने बाटो पक्की भएकाले बाह्रै महिना पर्यटकको आगमन हुन थालेको झरना संरक्षणमा खटिएका कर्मचारी केसीले बताए । यसलाई अझ सहज र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार