२०८२ चैत १९ , बिहीबार 3, April 2026, Friday

बाल सुधार गृहका ५९ प्रतिशत किशोर बलात्कारमा संलग्न

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १८ गते बुधबार

सुर्खेतको वीरेन्द्रनगरको उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने १६ वर्षीया किशोरी गत फागुन २३ गते आफ्नै प्रेमीबाट बलात्कृत भइन् । अत्यधिक रक्तस्रावले उनको ज्यान गयो । सो घटनामा संलग्नताको आरोपमा सुर्खेत प्रहरीले अरू तीन किशोरविरुद्ध पनि बलात्कार तथा हत्याको आरोपमा मुद्दा चलाएको छ ।

मुख्य अभियुक्त किशोरले आफूहरूबीच सहमतिमै शारीरिक सम्बन्ध भएको र किशोरी बेहोस भएपछि उद्धारका लागि मात्र साथीहरू बोलाएको दाबी गरेका छन् । यसको टुंगो अब जिल्ला अदालत सुर्खेतले लगाउनेछ । यो घटनाले बलात्कारजस्तो जघन्य अपराधमा किशोरहरूको संलग्नता उजागर गरेको छ । बाँकेकी १२ वर्षीया किशोरी छिमेकी परिवारका १४ वर्षीय किशोरबाट बलात्कृत हुन पुगिन् ।

उनीहरू सधैं मिलेर खेल्ने साथी थिए । उनीहरूको सम्बन्ध दाजुबहिनीजस्तो ठानेर परिवारले खासै वास्ता गरेको थिएन । एकदिन एक्कासि किशोरी चिच्याएको आवाज आयो । हेर्न जाँदा किशोरले जबरजस्ती गरिरहेका थिए । ती किशोरले बाल सुधारगृहमा कैद भुक्तान गरेको डेढ वर्षभन्दा बढी पुगिसकेको छ । यी र यस्ता घटनाको फेहरिस्त ठुलो छ ।

१८ वर्षमुनिका किशोर–किशोरीलाई राखिने बाल सुधारगृहमा भएका किशोरमध्ये झन्डै ५९ प्रतिशत किशोर बलात्कारमा संलग्न भएको पाइएको छ । उनीहरू सामूहिक बलात्कार, जबरजस्ती करणी, हाडनाता करणी, अप्राकृतिक मैथुन लगायत अभियोगमा कैद भुक्तान गरिरहेका छन् । यसले पछिल्लो बलात्कारजस्तो जघन्य अपराधमा किशोरहरूको संलग्नता बढेको देखाउँछ ।

‘यो एकदमै जटिल सामाजिक समस्या हुँदै गएको छ’ बाल सुधारगृह नौवस्ता बाँकेका प्रमुख श्याम राणा भन्छन्, ‘किशोरहरूमा डिजिटल लत बसेको छ । हातहातमा मोबाइल र इन्टरनेटलको सुविधाले समग्र सामाजिक मनोवैज्ञानिक नै खलबलिएको छ ।’ इन्टरनेटमा सजिलै उपलब्ध हुने अश्लील सामग्रीले अवास्तविक र हिंसात्मक यौन व्यवहारलाई सामान्यजस्तो देखाउन सक्छ, जसले किशोरको सोचमा असर पार्ने गरेको उनी ठान्छन् ।

देशभर बलात्कारको डरलाग्दो ग्राफ

देशभरका नौवटा बाल सुधारगृहमा रहेका एक हजार तीनजना किशोरहरूको अपराध पृष्ठभूमि केलाइएको छ । तीमध्ये झन्डै ५९ प्रतिशत किशोरलाई जबरजस्ती करणीको अभियोग लागेको छ । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बालकृष्ण कट्वालका अनुसार, कुल कैदीबन्दीमध्ये ५९ दशमलव १२ प्रतिशत अर्थात् ५९३ जना किशोरमाथि बलात्कारको जघन्य अभियोग छ ।

तीमध्ये सामूहिक करणीमा २०, जबरजस्ती करणी उद्योगमा पाँच, अपहरण तथा शारीरिक बन्धक बनाई जबरजस्ती करणीमा पाँच, हाडनाता करणीमा १६, अप्राकृतिक मैथुनमा सात, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा दुईजना बालकले कैद भुक्तान गरिरहेका छन् । बाल सुधारगृह मोरङमा रहेका २३८ किशोरमध्ये १२७ जना बलात्कारको अभियोगमा कैद भुक्तान गरिरहेका छन् ।

बाल सुधारगृह डोटीमा ४९ जना किशोरमध्ये २३ जना बलात्कारका अभियुक्त रहेको प्रमुख सानु मायाले बताइन् । बाल सुधारगृह भक्तपुरमा ३० जना किशोर छन् । त्यहाँका प्रमुख कृष्ण पौडेलका अनुसार तीमध्ये दुईजना जबरजस्ती करणीमा सजाय काटिरहेका छन् । त्यस्तै, बाल सुधारगृह मकवानपुरमा ९१ जना कैदी बालकमध्ये ६२ जना बलात्कारमा संलग्नताको अभियोगमा कैद भुक्तान गरिरहेका छन् ।

बाल सुधारगृह रुपन्देहीमा एक सयजनामध्ये ६८ जना किशोरमाथि बलात्कारको अभियोग छ । बाल सुधारगृह पर्सामा ९७ जनामध्ये ४८ जना, बाल सुधारगृह नौवस्ता (बाँके)मा १३३ जनामध्ये ८७ जना किशोर जबरजस्ती करणीको कसुरमा कैद भुक्तान गरीरहेका छन् । सुधारगृहका प्रमुख राणाका अनुसार, तीमध्ये दुईजना सामूहिक जबरजस्ती करणीको आरोपमा कैद भुक्तान गरिरहेका छन् ।

बाँकेकै अर्को बाल सुधार गृहमा रहेका १५९ जना किशोरमध्ये ६९ जना यौन अपराधजन्य कसुरमा कैद भुक्तान गरिरहेका छन् । बाल सुधार गृह कास्कीमा रहेका १०६ किशोरमध्ये ५२ जना किशोर जबरजस्ती करणीमा सजाय भोगिरहेका छन् । बालगृहका प्रमुख दुर्गा सुवेदीका अनुसार, तीमध्ये दुईजनामाथि हाडनाता करणीको अभियोग छ ।

त्यसो त, सबै उमेर समूहका बलात्कारमा संलग्न कैदीबन्दीको तथ्यांक त्योभन्दा डरलाग्दो छ । देशभर ६ हजार ७२४ जना व्यक्ति जबरजस्ती करणीको अभियोगमा कैद भुक्तान गरिरहेका छन् । विभागका अनुसार, जबरजस्ती करणी उद्योगमा २८३, बाल यौन दुर्व्यवहारमा ४३, अपहरण तथा शारीरिक बन्धक गराई करणीमा ३५९ जनाले कैद भुक्तान गरिरहेका छन् ।

कानुनमा के छ ?

त्यसो त १८ वर्षमुनिका किशोर–किशोरीबीच आपसी सहमतिमै यौन सम्बन्ध भए पनि कानुनले जबरजस्ती करणी परिभाषित गरेको छ । त्यस्तो कार्यमा संलग्न नाबालकको हकमा छुट्टै सजायसमेत तोकिएको छ । १८ वर्षभन्दा कम उमेरका बालकसम्बन्धी ऐन २०७५ को दफा ३६(४) बमोजिम सजाय तोकिएको छ ।

अधिवक्ता वसन्त गौतमका अनुसार, अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्तिसमेत उल्लेख गरिएको छ । २०७५ को दफामा ‘१६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानुनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुईतिहाइ सजाय हुनेछ’ भनिएको छ ।

‘मुलुकी अपराध संहिता २०७४ को दफा १७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने उल्लेख छ,’ उनले भने, ‘त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई जन्मकैद हुने उल्लेख छ ।’ पीडित १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए अभियुक्तलाई १० वर्षदेखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ । सामूहिक रूपमा जबरजस्ती करणी गरेमा थप पाँच वर्ष कैद सजाय हुने उल्लेख छ ।

के हो किशोरावस्था ?

किशोर अवस्था भनेको बाल्यकाल र वयस्क अवस्थाबीचको संक्रमणकाल हो, जहाँ व्यक्ति शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रूपमा तीव्र परिवर्तनबाट गुज्रिन्छ । सामान्यतया यो अवस्था १० देखि १९ वर्ष उमेरसम्म हुने मानिन्छ । त्यसैले किशोरअवस्थालाई संवेदनशील अवस्थाको रूपमा समेत लिइन्छ । यतिबेला किशोर–किशोरीको निर्णय क्षमता अपरिपक्व हुनसक्छ ।

यो समयमा शारीरिक परिवर्तन हुन्छ । जसमा शरीरमा तीव्र विकास हुन्छ हुने, यौन अंगहरूको विकास हुने, मानसिक र बौद्धिक विकास हुन्छ । त्यस्तै, नयाँ कुरा सिक्ने क्षमता बढ्छ, आफ्नै सोच र विचार बन्न थाल्ने, निर्णय लिन खोज्ने, तर कहिलेकाहीँ अपरिपक्व निर्णय हुन सक्छ । भावनात्मक परिवर्तन, सामाजिक व्यवहारमा परिवर्तन, साथीहरूसँग बढी समय बिताउने, परिवारभन्दा बाहिरका प्रभाव, स्वतन्त्रता खोज्ने लगायत परिवर्तन हुने समय भएको भन्दै अभिभावकहरूले यो उमेर समूहलाई विशेष ख्याल राख्नुपर्ने विज्ञहरू बताउँछन् ।

यौनप्रति उत्सुकता, विपरीत लिंगीप्रति आकर्षण र आफूले चाहेको हुनुपर्ने हठजस्ता मनोविज्ञान यो बेला उत्पन्न हुने गरेको मनोविद्हरू बताउँछन् । विद्यालयमा स्वास्थ्य तथा जनसख्या विषय पढाइन्छ । त्यसमा यौन तथा प्रजनन स्वास्थ्यको विषय पनि समेटिएको छ । तर, त्यो खुलेर यौन शिक्षा नपढाउँदा समस्या आएको देखिन्छ । ‘यौन तथा स्वास्थ्यको पाठ शिक्षकले आफैं पढ्नू भन्नुहुन्छ, अर्को पाना फर्काउनुहुन्छ,’ कक्षा ८ मा पढ्ने एक किशोरीले सुनाइन् ।

यसले विद्यालयहरूमा आवश्यक यौन शिक्षाको कमी देखाउँछ । जसले गर्दा उमेरजन्य शारीरिक परिवर्तन, यौन चाहना, उत्सुकता, आपसी सम्बन्ध, कानुनी व्यवस्थाको राम्रो जानकारी नभई किशोरकिशोरी गलत बाटोमा जान्छन् । किशोरहरूलाई यौन शिक्षा र कानुनको बारेमा नबुझाइँदा बलात्कारका घटनामा संलग्न भएको वरिष्ठ पत्रकार बबिता बस्नेत बताउँछिन् ।

उनले केहीअघि बाल सुधारगृहका रहेका किशोर–किशोरीबारे अनुसन्धान पनि गरेकी थिइन् । ‘सुधारगृहमा किशोरहरूलाई बुझ्दा बलात्कारलाई सामान्य रूपमा लिएको मैले पाएँ । उनीहरूलाई कानुनबारे केही थाहा छैन,’ बस्नेत भन्छिन्, ‘परिवारमा यौन शिक्षा र कानुनबारेमा छलफल नै नहुँदो रहेछ ।’ जसले गर्दा किशोरहरूले यौनजन्य गतिविधिलाई सामान्य रूपमा लिएको देखिन्छ ।

धेरै किशोरलाई यस्तो अपराधको गम्भीरता, कानुनी सजाय र पीडितमाथि पर्ने असरबारे जानकारी नै नहुने आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘बलात्कार तथा यौनजन्यका कानुन बन्यो । तर, कानुन बुझाउने निकाय भएनन् ।’ समाजशास्त्री डा.मीना पौडेल किशोरहरूलाई अभिभावकले विशेष ख्याल गर्नुपर्ने बताउँछिन् ।

बलात्कारको घटनामा किशोर संलग्नता बढ्नुमा सामाजिक पुरुषत्व वा मर्दानी देखाउने मनोविज्ञानसँग जोडिएको टिप्पणी गर्दै उनी भन्छिन्, ‘किशोरहरूलाई सानै उमेरबाट गाउँ–समाजमा मर्दानी देखाउने खालको वातावरण दिइन्छ । जसले जे गर्दा पनि केही नहुने हिम्मत दिन्छ । उनीहरू अपराधको खाडलमा पर्नुको एउटा कारण यही हो ।’

घरमा कस्तो वातावरण दिइन्छ भन्ने कुराले पनि बालबालिकालाई असर पर्ने गरेको उनी बताउँछिन् । पछिल्लो समय सामाजिक सञ्जालमा भिन्न विचार राखेकै कारण महिलाप्रति गरिएको बुलिङ, अश्लील गाली, धम्कीले समाजको अनुहार देखाएको पौडेलको भनाइ छ । ‘यौनजन्य कुरालाई सामान्य रूपमा लिनु, गलत व्यवहारलाई सामान्य ठान्ने प्रवृत्तिले किशोरलाई यस्तो कार्यमा धकेलेको देखिन्छ,’ उनले भनिन, ‘यौन चाहना, उत्सुकता, जिज्ञासा केही होइन, पुरुषत्व देखाएको हो ।’

बालअधिकारकर्मी तारक धिताल किशोरहरूलाई केन्द्रित गरेर यौन शिक्षा र कानुनको विषयमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउँछन् । ‘किशोरी बचाऊँ, किशोरीहरू जोगिनुपर्छ भन्ने धेरै कार्यक्रमहरू आए,’ उनले भने, ‘अब किशोर जोगाउनुपर्ने बेला छ । उनीहरूबाट यौनजन्य घटना नघटोस् भनेर सचेतना अभियान चाल्नुपर्छ ।’ सही रूपमा सचेत गराए मात्र यौनजन्य घटना कम हुने उनी बताउँछन् ।

धितालका अनुसार, अधिकांश किशोरहरूलाई यौन शिक्षा र कानुनी ज्ञान छैन । उनीहरूलाई किशोरीप्रतिको सम्मान, इज्जतलगायतबारे बुझाउनुपर्ने समय आएको उल्लेख गर्दै भन्छन्, ‘एउटा कारण सामाजिक सञ्जाल हो । इन्टरनेटको पहुँचले कलिलै उमेरमा पोर्न भिडियो, भ्लगर सामग्री हेर्छन् अनि व्यवहारमा उतार्न खोज्छन् ।’ पछिल्लो समय सामाजिक सञ्जालहरूमा पनि यौन उत्तेजना बढाउने खालका सामग्रीहरू पनि बढ्दो रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार