२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

सडकका बेसहारा नागरिकको उद्धारमा मानवसेवा आश्रम

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १५ गते आइतबार
सडकका बेसहारा नागरिकको उद्धार गर्दै मानवसेवा आश्रमका कर्मचारी ।

मानवसेवा आश्रमले लुम्बिनी प्रदेशभर सडकपेटी, सार्वजनिक स्थल वा खुला आकाशमुनि जीवन बिताइरहेका बेसहारा नागरिकको उद्धारका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश’ बनाउने लक्ष्यसहित सुरु हुने यस प्रदेशस्तरीय अभियान चैत १५ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन गरिने आश्रमले जनाएको छ ।

मानवसेवा आश्रम बाँकेका प्रमुख उर्विन सापकोटाले अभियान अन्तर्गत सडकमा अलपत्र, मानसिक रूपमा कमजोर, अशक्त वा अभिभावकविहीन व्यक्तिहरूको खोजी, उद्धार, स्वास्थ्यको प्रारम्भिक जाँच र सुरक्षित आश्रयमा व्यवस्थापन गरिने जानकारी दिए । अभियान टोली लुम्बिनी प्रदेशका १२ जिल्लामा पुगेर प्रत्यक्ष अध्ययन र उद्धार सेवा प्रदान गर्ने तयारीमा छ ।

यसमा बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देही समावेश छन् । सापकोटाका अनुसार अभियानको उद्देश्य केवल उद्धारमा सीमित नभई स्थानीय तह र सरोकारवालासँग सहकार्य गरी दीर्घकालीन रूपमा सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्नु हो ।

हाल बाँकेको नेपालगन्ज आश्रममा ८० जना आश्रित छन् । वि.सं. २०६९ देखि सक्रिय मानवसेवा आश्रमले बेसहारा, अशक्त र मानसिक रूपमा अस्वस्थ व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा काम गर्दै आएको छ । लुम्बिनी प्रदेशका विभिन्न शाखामार्फत ३७५ जना आश्रितलाई सेवा दिइँदै आएको छ ।

संयोजक सरु अधिकारीका अनुसार रुपन्देही बुटवल शाखामा ५५, तिलोत्तमा १८०, दाङ ६० र नेपालगन्ज ८० जना आश्रितहरू संरक्षणमा छन् । आश्रमले सर्वसाधारणलाई अपिल गर्दै सडकमा अलपत्र वा सहयोगापेक्षी व्यक्तिहरू देखिएमा नजिकको उद्धार टोली वा आश्रमलाई तत्काल जानकारी दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार