२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

ओली र लेखकलाई आज अदालतमा फेश गराउँदै प्रहरी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १५ गते आइतबार

देशको राजनीतिक वृत्त एकाएक तातिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि त्यसको प्रतिध्वनि अझै फैलिइरहेको छ । दुवै नेतालाई आइतबार अदालतमा उपस्थित गराइने तयारी प्रहरीले अघि बढाएको छ ।

शनिबार सार्वजनिक बिदा परेकाले पक्राउलगत्तै अदालत लैजान नसकिएको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ र आइतबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा पेश गरिनेछ ।

कानुनी रूपमा प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भए पनि त्यसका लागि अदालतको अनुमति अनिवार्य हुन्छ । यही अनुमति लिन आज दुवै जनालाई अदालत लगिँदैछ । पक्राउपछि ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ भने लेखकलाई महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ ।

यो घटनाको जरो भने गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पुग्छ । सो आन्दोलनका क्रममा भएको मानवीय क्षतिबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गम्भीर निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।

आयोगले आन्दोलनका क्रममा भएको मृत्यु लापरबाही र कमजोर व्यवस्थापनको परिणाम भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । उही सिफारिस कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिवार भक्तपुरबाट दुवै नेतालाई नियन्त्रणमा लिएको हो । अहिलेको यो कदमले देशको राजनीतिक वातावरण थप तात्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार