२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

केजरीवालले भने, ‘विगतका ‘कुकर्म’ले ओली-लेखक पक्राउ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १४ गते शनिबार

नेपालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयले भारतमा पनि चर्चा पाएको छ । दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का संस्थापक अरविन्द केजरीवालले सामाजिक सञ्जाल एक्समार्फत यसबारे प्रतिक्रिया दिएका हुन् ।

पूर्वमुख्यमन्त्री केजरीवाल दुई नेपाली नेता गिरफ्तारका विषयमा टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको विषयमा उनले टिप्पणी गरेका हुन् ।

यो घटनालाई लिएर केजरीवालले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘नेपाल के पूर्व प्रधान मंत्री और गृह मंत्री अपने पुराने कुकर्मों की वजह से गिरफÞ्तार’ (नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री विगतका कुकर्मका कारण पक्राउ) ।

केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए । उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो ।

सफाई पाएपछि केजरीवालले भावुक हुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि ठूलो राजनीतिक षड्यन्त्र रचेको आरोप लगाएका थिए । उनले यो षड्यन्त्र आपलाई समाप्त पार्न र दिल्लीमा सत्ता कब्जा गर्नका लागि गरिएको दाबी गरेका थिए ।

ओली र लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि पक्राउ गरिएको हो । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय अनुसार आज बिहान ओली र लेखकलाई उनीहरूकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार