नेपालगन्ज उपमहानगरपालिका–१९, एकतानगरका ५५ वर्षीय श्याम गिरीको नाम जति सरल छ, उनको यात्रा त्यति नै प्रेरणादायी र रोचक छ । गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान् । तिनै ‘रेडियो प्रेमी वान’ अर्थात् श्याम गिरीसँग शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै नृत्य प्रस्तुत गर्न सक्ने खुबी छ । कुनै समयमा रेडियो कार्यक्रममार्फत आम स्रोताका माझ ‘रेडियो प्रेमी वान’को नाममा चिनिने श्याम गिरी ‘टु लेग फिङ्गर फ्रन्ट टु ब्याक योगा डान्सर’का रुपमा परिचित बनिरहेका छन् ।
अहिले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा श्याम गिरीको ‘टु लेग फिङ्गर फ्रन्ट टु ब्याक योगा डान्स’ भाइरल भइरहेको छ । सात बर्षदेखि कडा मेहनत गरेर ‘योगा डान्स’ गर्ने गिरी फेसबुक र टिकटकमा नेपाली मात्रै हाइन विदेशी नागरिकले पनि उनको नृत्यलाई अत्याधिक मन पराउँछन् । गिरीका सात बर्ष लामो अथक प्रयासपछि गिरीले सिर्जना गरेका ‘न्यु योगा हर्ट’, ‘टु लेग फिङगर’, ‘फ्रन्ट टु ब्याक, वेटिङ स्केल’, ‘राउण्डिङ्ग स्विट’, ‘वन लेग फिङ्गर’ जस्ता डान्स स्टेपहरु नेपालमा मात्र नभई विश्वभर चर्चित छन् ।

अनेक कठिनाईलाई गिरीले पार गर्दै नेपाली तथा विदेशी नागरिकको फ्यान बन्न सफल भएको बताए । टिकटकमा ‘रेडियो प्रेमी वान’बाट फेमस भएका गिरीले ‘मेरो डान्स सिजन–२’ मा पनि योगा डान्स प्रस्तुत गरेका थिए । उक्त सिजनमा बाँकेबाट छनोट भई काठमाडौंमा पुगेर आफ्नो प्रस्तुती देखाउँदा निर्णायकहरु दिलिप राइमाझी, मिथिला शर्मा, मोडल तथा डान्सर शंकर विसी लगायतले उनको प्रशंसासमेत गरेका थिए । निर्णायकहरुले गिरीका ‘योगा डान्स’का स्टेपहरुको प्रसंशा गर्दा गिरी थप उत्साहित भएका थिए ।
‘संसारकै नौलो नृत्य सिर्जना गरेर विश्वमा चिन्न सफल भए,’ गिरीले खुशी व्यक्त गर्दै भने, ‘धेरै मेहनत गरेर यहाँसम्म आएको हुँ । सात बर्षदेखि लगातार कडा परिश्रम गरेर मैले सिर्जना गरेको नृत्यलाई विश्वमा चिनाउन सफल भए ।’ ५५ बर्षिय गिरीको नृत्य गर्ने जोस कहिल्यै घटेन, बरु उनी निरन्तर नृत्य साधनामा उत्साहित भएर लागिरहेका छन् । ‘रुची र लगाव निरन्तर भइरहे उमेरले नछेक्ने रहेछ,’ गिरीले भने, ‘नृत्य क्षेत्रमा मेरो रुची भएकै कारणले नयाँ स्टेप गर्न गाह्रो छैन ।’ लामो समयसम्म नेपाल आयल निगममा कार्यरत गिरी जागिर छाडेर घरमै बस्ने र सामाजिक सञ्जालमा आफुले नृत्यका नयाँ तरिकाहरु सिर्जना गरिरहेका छन् ।

त्यसो त २०६७ सालतिरबाट रेडियो कार्यक्रमका नियमित श्रोताका रुपमा ‘रेडियो प्रेमी’ भनेर चिनिने गिरीको रेडियोप्रतिको मोहले सुरु भएको यो परिचय आज सामाजिक सञ्जाल हुँदै अन्तर्राष्ट्रिय दर्शकमाझ फैलिएको छ । अहिले फेसबुक र टिकटकमा उनका भिडियोहरूले नेपालीमात्रै नभएर विदेशी दर्शकहरूको समेत ध्यान खिचिरहेका छन् । अहिले गिरीको पहिचान केवल रेडियोप्रेमीमा सीमित रहेन । पछिल्ला सात वर्षदेखि उनले नृत्य क्षेत्रमा गरेको निरन्तर अभ्यासले उनलाई छुट्टै उचाइमा पुर्याएको छ ।
योगा डान्स शैलीमा उनले आफैं सिर्जना गरेका नृत्यहरु ‘न्यु योगा हर्ट’, ‘टु लेग फिङ्गर’, ‘फ्रन्ट टु ब्याक’, ‘वेटिङ स्केल’, ‘राउण्डिङ स्वीट’, र ‘वान लेग फिङ्गर’ उनको मौलिकता र मेहनतको प्रमाण हुन् । यी नृत्य स्टेपहरूले आफूलाई नेपाल मात्र होइन, विश्वस्तरमै चिनिन मद्दत गरेको गिरीको दाबी छ । गिरीको नृत्ययात्रा सजिलो थिएन । उमेर, चुनौती र अवसरको अभावजस्ता अनेक अवरोध पार गर्दै उनी यहाँसम्म आइपुगेका हुन् । उनी भन्छन्, ‘रुचि र लगाव भए उमेरले कहिल्यै रोक्दैन ।’ ५५ वर्षको उमेरमा पनि उनको ऊर्जा र समर्पण युवालाई प्रेरणा दिने खालको छ ।

उनले आफ्नो प्रतिभा ‘मेरो डान्स सिजन–२’ जस्तो राष्ट्रियस्तरको मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेसँगै उनको आत्मविश्वास झन् चुलियो । त्यही आत्मविश्वासले गिरीको कथा केवल एक व्यक्तिको सफलताको कथा मात्र होइन, यो उमेर, स्थान र अवसरभन्दा परिश्रम र लगाव ठूलो हुन्छ भन्ने सन्देश बन्यो । साधारण जीवनबाट असाधारण पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका गिरी आज धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् । अहिले घरमै बसेर नृत्यका नयाँ स्टेप सिक्ने, अभ्यास गर्ने र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने उनको दैनिकी बनेको छ ।
करिब डेढ दशकअघि नेपालगन्जबाट प्रसारित हुने एफएमहरूका प्रत्येक कार्यक्रममा फोन गरेर सहभागिता जानाउनु गिरीको देनिकी जस्तै बनेको थियो । रेडियोमा प्रशारण हुने सांगीतिक कार्यक्रमहरुमा फोन गरेर संवाद गरेर गीतहरू रिक्वोष्ट गर्नु गिरीको आदत जस्तै थियो । जसका कारण बाँके जिल्ला र आसपासका क्षेत्रहरूमा एफएमका श्रोताहरू माझ गिरी परिचित छन् । गिरीलाई आरजेहरूले ‘रेडियो प्रेमी’ भनेर सम्बोधन गर्न थालेपछि उनको परिचय नै ‘रेडीयो प्रेमी वान’ बन्यो । गिरीलाई बाँके जिल्ला र सो वरिपरी ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने कमै होलान । गिरी पनि आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउँन रूचाउछन् ।

सामान्य पारिवारीक पृष्ठभूमीमा हुर्किएका सरल स्वभावका हसिला ‘रेडियो प्रेमी वान’ मोफसलमा रहेर पनि चर्चा बटुल्न सफल भएका छन् । उनलाई ‘रेडियो प्रेमी वान’का नाममा नजिकबाट चिन्ने उनका बालसखाहरुका अनुसार अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगतदेखि नै निकै संघर्ष गर्दै आफ्नो कला र गलाको माध्यमबाट आफूलाई सधैं चर्चामा राख्दै कलाकारिता क्षेत्रमा स्थापित हुँदै आएका छन् । गिरीका निकै रमाइला र भिन्न किसिमका नृत्य तथा अभिनयले जो कोहीलाई पनि मोहित बनाउँछ । एक जना टिकटक प्रयोगकर्ता भन्छन्, ‘रेडियो प्रेमी वान’ टिकटक लाइभमा आएर विभिन्न गीतमहरूमा चलनचल्तीका भन्दा भिन्न प्रकारको नृत्य तथा अभिनय प्रस्तुती हेर्दा दिनभरिको थकान मेटिन्छ ।’
‘रेडियो प्रेमी वान’ टिकटक ह्यान्डलमा उनले दजनौं गीतहरुमा उनले नृत्य तथा अभिनय प्रस्तुत गरेर अहिले उनले देश विदेशमा चर्चा बटुलिरहेका छन् । जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका भिन्न प्रकारका नृत्य तथा अभिनय प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । ‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभरी हजुरको कलाको जादु फैलिएको छ । यहाँको कलाले अझ सफलता हासिल गरोस् शुभकामना’ टिकटक प्रयोगकर्ता विनिता खनालले गिरीको नृत्यको प्रशंसा गर्दै भनेकी छन्, ‘तपाईको नृत्य र अभिनय भिन्न छ । तपाईको नृत्य सर्वोत्कृष्ट सवैका लागि नहोला तर रमाइलो र मौलिकपन छ । यसलाई सदैव कायम राख्दै अझ उत्कृष्ट कला प्रस्तुत गर्न सफलता मिलोस् शुभकामना !’
आफ्नो नृत्य कलाको बारेमा गिरी भन्छन्, ‘कला भनेको साधन हो । साधनाले मानिसलाई उर्जा र निखारता प्रदान गर्छ ।’ अहिले टिकटक लाइभमा भिन्न शैलीको डान्स र अभिनय गर्नु आफ्नो दैनिकीनै भइसकेको उनी बताउँछन् । टिकटक डान्सर गिरी देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्दै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताउँछन् । रेडियोबाटै ‘रेडियो प्रमी वान’को परिचय बनाएका गिरीले आफ्नै शब्द रचना तथा स्वरमा गीति एल्वम निकालेका छन् भने लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि श्यामकुमारी चौधरीसँग ‘मित–मितिनी’को नाता लगाउँदै चर्चामा आएका थिए ।
सत्यपाटी