पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर नियन्त्रणमा लिएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो। ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उनले जानकारी दिए । यसैगरी, तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि भक्तपुरकै कटुञ्जेबाट आज बिहानै प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनामा अनुसन्धान गर्न दुवै नेतालाई पक्राउ गरिएको हो । जाँचबुझ आयोगको प्रतिवेदन र पीडित परिवारले दिएको जाहेरीका आधारमा कारबाही अघि बढाइएको बताइएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘हेलचेर्क्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान भइरहेको छ । यस कसुरमा दोषी ठहर भए अधिकतम तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी २४ घण्टाभित्र अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ ।
सत्यपाटी