राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा राष्ट्रपतिले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । शाहले आजै दिउँसो १२ः३४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने तयारी छ ।
संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठन हुन लागेको हो । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
शपथ समारोहमा राजनीतिक दल, कूटनीतिक नियोग, नागरिक समाज र उच्च अधिकारीहरूलाई आमन्त्रण गरिएको छ, साथै मन्त्रीहरूको पनि शपथ हुने बताइएको छ । उनी यसअघि र्यापर, काठमाडौं महानगरपालिका मेयर हुँदै प्रधानमन्त्री बनेका छन् ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।

सत्यपाटी