मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।
पहिलो ‘क्याबिनेट’मै बालेनका महत्वपूर्ण निर्णय ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज (शुक्रबार) प्रधानमन्त्री बन्दैछन् । यसका लागि रास्वपाको आजको बसेको संसदीय दलको बैठकले बालेनलाई दल नेता समेत बनाइसकेको छ ।
१२ बजेर ३४ बजेको समयमा प्रधानमन्त्रीको शपथ लिन लागेका बालेनले पहिलो मन्त्रिपरिषद्(क्याबिनेट) बैठक मै महत्त्वपूर्ण निर्णय गर्न लागेका छन् । उनले थुप्रै सुधारका कार्यक्रमहरूबारे निर्णय गर्न लागेका हुन् । यसका लागि केही दिन अगाडि नै उनले सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरेको समेत पाइएको छ ।
स्रोतका अनुसार बालेनको निर्देशनमा मुख्य सचिव सुमनराज अर्यालले सचिवहरूलाई पत्राचार गर्दै पाँच–पाँच सुधारका योजना पठाउन भनिएको थियो । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक (१८२)को सिट प्राप्त गरेको थियो ।
सत्यपाटी