२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

कर्णालीमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८२ चैत ११ गते बुधबार

कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी ८४२ जनाले ज्यान गुमाएका छन् । भौगलिक विकटता, साँघुरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको छ ।

कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार, पछिल्लो सात वर्षमा कर्णालीमा पाँच हजार ४६५ सवारी दुर्घटना भएका छन् । जसमा ८४२ जनाको मृत्यु भएको छ ।

कार्यालयका अनुसार, आर्थिक वर्ष २०७६–०७७ मा २६५ वटा सवारी दुर्घटना भएका थिए । त्यस्तै, २०७७–०७८ मा ३८३, २०७८–०७९ मा ४९९, २०७९–०८० मा ६८४, २०८०–०८१ मा एक हजार ४४६, २०८१–०८२ मा १२३८ सवारी दुर्घटना भएका थिए ।

चालु आव २०८२–०८३ को माघसम्म ९५० वटा सवारी दुर्घटना भइसकेका छन् । यसले कर्णालीमा सवारी दुर्घटना बढ्दो क्रममा रहेको देखाउँछ । कर्णालीमा आर्थिक वर्ष २०७६–०७७ मा सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, २०७७–०७८ मा ९८, २०७८–०७९ मा १८०, २०७९–०८० मा १३१, २०८०–०८१ मा ११२, २०८१–०८२ मा १३९ र चालु आव २०८२–०८३ को माघसम्म ८५ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले सडक दुर्घटना न्यूनीकरण सबैको साझा दायित्व भएको बताए ।

आम नागरिकले ट्राफिक नियमको पूर्ण पालना नगरेसम्म दुर्घटना नियन्त्रण गर्न कठीन हुने बताए । ‘हालसम्म दुर्घटनाको दोष केवल ट्राफिक प्रहरीलाई दिने प्रवृत्ति देखिएको छ, जुन गलत छ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मात्र सवारी दुर्घटना कम हुन्छ,’ रिजालले भने, ‘ट्राफिकलाई दोष दिएर समस्या समाधान हुँदैन ।’

यातायात व्यवसायीलाई समेत जिम्मेवार बन्न उनले आग्रह गरे । सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ । विगतमा ट्राफिक प्रहरीबाट भएका कमजोरीको समीक्षा गर्दै त्रुटि दोहोरिन नदिने योजना रहेको रिजालले बताए ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार