२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

बेमौसमी वर्षाले बाँकेमा नौ करोडको इँटा नष्ट

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत ९ गते सोमबार

गत दुई दिनदेखि भएको बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लाका इँटा व्यवसायीहरुका अनुसार पकाउनका लागि तयारी अवस्थामा राखिएको ठुलो परिमाणको काँचो इँटा गलेर नष्ट भएपछि व्यवसायीलाई आठ करोड ७५ लाख रुपैयाँको आर्थिक क्षति भएको हो ।

इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं बाँकेको पिबीसी ईट्टा उद्योगका सञ्चालक दिपक अधिकारीले बेमौसमी वर्षाले गर्दा एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको बताए । उनले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख जति काँचो ईट्टा नष्ट भएकाले ८ करोड ७५ लाख रुपैयाँको क्षति भएको बताए ।

एउटा काँचो इँटाको मूल्य दुई रुपैयाँ ५० पैसा पर्ने समेत अधिकारीले बताए । व्यवसायीका अनुसार खुला चौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटाहरु बगेर माटोमा परिणत भएका छन् । कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठुलो क्षति व्यहोर्नु परेको बाँकेका व्यवसायीहरुको भनाइ छ ।

इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीहरुले ठुलो क्षति व्यहोर्नु परेको बताए । उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठुलो मर्का पर्दै आएको बताए ।

२४ घण्टाको वर्षाले प्रत्येक इँटा व्यवसायीको तीनदेखि सात लाखका दरले क्षति भएको अनुमान गरिएको जनाउँदै चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताए । यो सिजनको सुरुमै वर्षाले करिब चार करोड जति इँटा नष्ट भएकाले अर्को पटक इँटा उत्पादन नहुँदासम्म इँटा अभाव कायमै रहने देखिएको खाँको भनाइ छ ।

इँटा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इँटा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा छ देखि दश लाखसम्म इँटा तयार पारिन्छ,’ इँटा व्यवसायी खाँले भने, ‘यसपटक सुरुमै दोस्रो राउण्डमै क्षति भएको छ ।’

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार