२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

बाँकेमा ३३ सवारी दुर्घटना, चारको मृत्यु, ४६ घाइते

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत ९ गते सोमबार

बाँके जिल्लामा गत एक महिनाको अवधीमा ३३ वटा सवारी साधन दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको फागुन महिनाको प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा ४८ वटा सवारी साधन दुर्घटनामा परेको जानकारी गराइएको छ ।

मासिक प्रहरी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले फागुन महिनामा ३३ वटा सवारी दुर्घटना भएको जनाउँदै ती दुर्घटनामा परेर चार जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताए । उनले जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तिव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको बताए ।

उनले २४ वटा दुर्घटना तिव्र गतिका कारण भएको पाइएको बताए । सोही प्रकारले चालकको लापरवाहीले छ वटा, मादक पदार्थ सेवन गरेका कारण एउटा र छाडा चौपायाका कारण पनि एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले चेतनामूलक कार्यक्रमसँगै चेकजाँचलाई कडा पार्दै गए पनि तिव्र गतिमा सवारी साधन चलाउने क्रम नरोकिएको हुँदा दुर्घटना न्यूनीकरणमा समस्या भएको बाँकेका प्रहरी प्रवक्ता पातलीले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६४१ वटा सवारी साधनमाथि कारबाही गर्दा १३ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक शाहीले तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेमाथि निगरानी बढाइएको बताए । उनले ट्राफिक प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरेर ट्राफिक नियमसँगै गति र अन्य सम्भावित जोखिम बारे जानकारी गराउँदै आएको पनि बताए ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार