२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

इन्धन महँगिँदा खाने तेल बढ्दो, अन्य वस्तुमा पनि चाप

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ९ गते सोमबार

पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर नेपाली बजारमा देखिन थालेको छ । इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च महँगो हुने संकेत देखिएको छ, जसले दैनिक उपभोग्य वस्तुको मूल्यमा क्रमशः दबाब सिर्जना गर्न सक्छ ।

अहिले नै उपभोक्ताहरूमा अभावको त्रास देखिएको छ । धेरैले चामल, दाल, चिनी जस्ता खाद्यान्न किनेर स्टक गर्न थालेका छन् । तर सरोकारवालाहरूका अनुसार तत्काल खाद्यान्न अभावको अवस्था भने छैन ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार हाल सबैभन्दा धेरै प्रभाव खाने तेलमा देखिएको छ । अन्तर्राष्ट्रिय बजार र ढुवानी खर्च बढ्दा तेलको मूल्य प्रतिलिटर करिब ५० रुपैयाँसम्म बढिसकेको छ ।

आगामी दिनमा यो मूल्य अझै बढेर प्रतिलिटर ३५० रुपैयाँसम्म पुग्न सक्ने चेतावनी उनले दिएका छन् । यातायात भाडा बढ्ने तयारीसँगै बजारमा थप महँगी बढ्ने संकेत छ । ढुवानी महँगो भएपछि आयातित वस्तुहरू स्वतः महँगा हुनेछन् ।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने उपभोक्तालाई आश्वस्त पारेको छ । कम्पनीका अनुसार हाल सरकारी भण्डारमा करिब ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ, जसले कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग गर्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार यो मौज्दात दीर्घकालीन आपूर्ति होइन, तर बजारमा अस्वाभाविक गतिविधि भए तुरुन्त हस्तक्षेप गर्न प्रयोग गरिने ‘बफर स्टक’ हो । हालसम्म भारतबाट खाद्यान्न आयात नियमित रूपमा भइरहेकाले चामल, दाल, चिनीमा ठूलो संकट देखिएको छैन ।

तर इन्धन र प्याकेजिङ सामग्री महँगिँदा साना प्याकेटका खाद्य वस्तुमा भने केही मूल्य वृद्धि भइसकेको छ । समग्रमा, तत्काल खाद्यान्न अभावको जोखिम नरहे पनि इन्धनको मूल्यवृद्धिले बजारमा विस्तारै महँगी बढ्ने संकेत देखिएको छ, विशेषगरी खाने तेलमा ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार